काठमाडौं : मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा पाँच करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १२०.२६ प्रतिशते बढी हो। गत वर्षको सोही अवधिसम्ममा बैंकले दुई करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । यसका साथ बैंकको निष्क्रिय कर्जा घटेका कारण पनि नाफामा वृद्धि देखिएको हो ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ६८.४३ प्रतिशतले बढेर १४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी १९९.१२ प्रतिशत र कुल सञ्चालन आम्दानी ७५.८५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १२०.२६ प्रतिशतले बढेको छ ।
गत वर्ष ५८ लाख २५ हजार रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज बढेर दुई करोड २९ लाख रुपैयाँमा पुगेको छ । गत वर्ष १.७४ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ०.४५ प्रतिशत पुगेको छ ।
यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ११.१६ रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा बैंकको यस्तो आम्दानी ५.१२ रुपैयाँ बढेर ९.३७ रुपैयाँ पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३५.९८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ६४.१ गुणा रहेको छ।
पुस मसान्तसम्म एक अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४३ करोड ७९ लाख २६ हजार रुपैयाँ सञ्चित छ।
Advertisment