काठमाडौं : नेपालमा ब्रोडब्यान्ड इन्टरनेट बजार थप प्रतिस्पर्धात्मक बन्दै गएको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले सार्वजनिक गरेको मंसिरसम्मको तथ्यांकअनुसार प्रमुख सेवाप्रदायकहरूबीच ग्राहक संख्या, बजार हिस्सा र स्थानका लागि होड तीव्र बनेको देखिएको हो।
तथ्यांक अनुसार नेपाल टेलिकम र डिसहोम फाइबर इन्टरनेटबीच ग्राहक संख्याको अन्तर अत्यन्तै न्यून रहेको देखिएको छ । मंसिरसम्म टेलिकमका ३ लाख ७५ हजार ग्राहक रहेका छन् भने डिसहोमका ३ लाख ८२ हजार पुगेका छन्। दुई कम्पनीबीचको अन्तर जम्मा ७ हजार मात्र रहेकाले दोस्रो र तेस्रो स्थानका लागि कडा प्रतिस्पर्धा भइरहेको तथ्यांकले देखाएको छ ।
मंसिरसम्म ग्राहक संख्या र आम्दानी दुवैका आधारमा भने वल्र्डलिङ्क इन्टरनेट बजारमा अग्रस्थानमा रहेको तथ्यांकमा उल्लेख छ । यस अवधिमा वल्र्डलिङ्कका ग्राहक संख्या १० लाख ४४ हजार पुगेको छ, जुन कुल इन्टरनेट बजारको करिब ३१ प्रतिशत हो।
ग्राहक सेवाका आधारमा डिसहोम फाइबर इन्टरनेट दोस्रो स्थानमा उक्लिएको छ। पछिल्लो सात महिनादेखि डिसहोमले दोस्रो स्थान कायम राख्दा नेपाल टेलिकम तेस्रो स्थानमा सीमित हुन पुगेको छ।
यसअघि २०८२ वैशाखअघि पुसदेखि वैशाखसम्मको पाँच महिनाको अवधिमा टेलिकम दोस्रो स्थानमा थियो। त्यसअघि पनि टेलिकम प्रायः तेस्रो स्थानमै रहँदै आएको र वल्र्डलिङ्क निरन्तर पहिलो स्थानमा कायम रहेको तथ्यांकमा उल्लेख छ।
अन्य सेवाप्रदायकतर्फ भायानेटको ग्राहक संख्या ३ लाख ४० हजार पुगेको छ, जसका आधारमा यो बजार हिस्सामा चौथो स्थानमा छ। क्लासिक टेक पाँचौँ स्थानमा रहँदा यसको ग्राहक संख्या २ लाख ६७ हजार पुगेको छ। सुविसुका २ लाख ५५ हजार ग्राहक रहे पनि बजार हिस्साका आधारमा यो आठौँ स्थानमा सीमित छ।
एनटीएको तथ्यांकअनुसार नेपालमा सेवा प्रदान गरिरहेका शीर्ष २० इन्टरनेट सेवाप्रदायकमध्ये वल्र्डलिङ्कको बजार हिस्सा ३०.९२ प्रतिशत छ। त्यसपछि डिसहोमको ११.३२ प्रतिशत, नेपाल टेलिकमको ११.१० प्रतिशत र भायानेटको १०.०६ प्रतिशत बजार हिस्सा रहेको छ। यसले बजार केही सीमित कम्पनीहरूमा केन्द्रित हुँदै गएको देखाएको छ ।
इन्टरनेटसँगै भ्वाइस सेवाको अवस्था हेर्दा मोबाइल सेवा पूर्ण रूपमा हाबी भएको देखिन्छ। कुल २ करोड ९७ लाख ५६ हजारभन्दा बढी भ्वाइस ग्राहकहरूमध्ये मोबाइल सेवाको हिस्सा ९८.६० प्रतिशत छ। फिक्स्ड टेलिफोनीको हिस्सा १.३९ प्रतिशतमा सीमित रहँदा जीएमपीसीएसको योगदान नगण्य देखिएको छ।
नेपालमा ब्रोडब्यान्ड इन्टरनेट बजार तीव्र विस्तारको चरणमा रहेको छ । ग्राहक संख्या बढेसँगै सेवा गुणस्तर, मूल्य प्रतिस्पर्धा र प्रविधिमा लगानी नै आगामी दिनमा कम्पनीहरूबीचको मुख्य प्रतिस्पर्धात्मक आधार बन्ने अपेक्षा गरिएको छ।
विशेषगरी टेलिकम र डिसहोमबीचको नजिकको प्रतिस्पर्धाले बजारलाई अझ गतिशील बनाउने विश्वास लिइएको छ।
Advertisment