Below Menu
Below Menu

सुनचाँदीको मूल्यले तोड्यो नयाँ कीर्तिमान, तोलामै तीन लाख १८ हजार नाघ्यो

सुनचाँदीको मूल्यले तोड्यो नयाँ कीर्तिमान, तोलामै तीन लाख १८ हजार नाघ्यो

काठमाडौं : नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातारको मूल्यवृद्धिसँगै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले बढेर तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार ३०० रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४३० रुपैयाँले बढेर सात हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।

नेपालसहित विश्व बजारमा सुन र चाँदीको मूल्य तीव्र रूपमा बढ्नुको प्रमुख कारण विश्वव्यापी युद्धको प्रभाव, असुरक्षा र कागजी मुद्राप्रति घट्दो विश्वास भएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले बताएका छन्।

उनका अनुसार जब–जब संसारमा युद्ध, महामारी, भूकम्पजस्ता संकट र अनिश्चितता उत्पन्न हुन्छ, तब लगानीकर्ताहरू आफ्नो पूँजी सुरक्षित राख्न सुन र चाँदीजस्ता सुरक्षित सम्पत्तितर्फ आकर्षित हुने गर्छन्। “यो आजको मात्र होइन, सयौँ वर्षदेखि चल्दै आएको अभ्यास हो,” उनले भने।

शाक्यले पछिल्लो समय सुन र चाँदीको माग अचानक बढ्दा आपूर्ति सीमित भएकाले मूल्यमा अस्वाभाविक वृद्धि देखिएको बताए। “सुन खानीबाट मात्र प्राप्त हुने खनिज हो, यसलाई प्रयोगशालामा उत्पादन गर्न सकिँदैन। खानीहरू क्रमशः घट्दै गएका छन्, तर माग भने तीव्र रूपमा बढिरहेको छ,” उनले स्पष्ट पारे।

यिनै कारणहरूले गर्दा पछिल्लो समय नेपालसहित विश्वभर सुन र चाँदीको मूल्य ऐतिहासिक रूपमा उकालो लागेको उनको भनाइ छ।

Advertisment

थप समाचार