काठमाडौं : नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशत बढी हो। गत वर्षको सोही अवधिसम्ममा बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा बढेका कारण खुद नाफा बढ्न पुगेको हो। साथै बैंकको घटेपनि इम्पेरिमेन्ट चाज घटेका कारण नाफामा वृद्धि देखिएको हो ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशतले घटेर चार अर्ब ४४ करोड २९ लाख रुपैयाँमा झरेको छ । त्यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी १७.१६ प्रतिशत र कुल सञ्चालन आम्दानी १.५९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३९४.६४ प्रतिशतले बढेको छ।
गत वर्ष दुई अर्ब ५२ करोड ७४ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज घटेर ४७ करोड ९९ लाख रुपैयाँमा झरेको छ । जसका कारण सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि देखिएको हो ।
यद्यपी यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२.४५ रुपैयाँ ऋणात्मक रहेको छ। यसका साथै बैंकको खराब कर्जा पनि बढेको छ । गत वर्ष ४.९९ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ५.३४ प्रतिशत पुगेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा बैंकको यस्तो आम्दानी ११.४९ रुपैयाँ बढेर १७.७६ रुपैयाँ पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २६२.४३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १३.५७ गुणा रहेको छ।
पुस मसान्तसम्म १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २३ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ सञ्चित छ।
Advertisment