काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा दुई अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २.०४ प्रतिशत बढी हो। गत वर्षको सोही अवधिसम्ममा बैंकले दुई अर्ब सात करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समिक्षा अवधिमा बैंकको ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्दा खुद नाफा बढ्न पुगेको हो। पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशतले बढेर चार अर्ब ५७ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी २०.३८ प्रतिशत र कुल सञ्चालन आम्दानी ९.७३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.०६ प्रतिशतले बढेको छ। गत वर्ष ३४ करोड ९५ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
यद्यपी यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४८.७२ रुपैयाँ रहेको छ। यसका साथै बैंकको खराब कर्जा पनि बढेको छ । गत वर्ष ०.६६ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ०ं६८ प्रतिशत पुगेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। यस अवधिमा बैंकको यस्तो आम्दानी १.२० रुपैयाँ घटेर ३०.८६ रुपैयाँ पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २३५.१५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २१.३९ गुणा रहेको छ।
पुस मसान्तसम्म १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १८ अर्ब ५२ करोड ९६ लाख रुपैयाँ सञ्चित छ।
Advertisment