काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४५.७८ प्रतिशत कम हो। गत वर्षको सोही अवधिसम्ममा बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समिक्षा अवधिमा बैंकको ब्याज आम्दानी बढेपनि इम्पेरिमेन्ट चार्ज बढेका कारण खुदा नाफामा असर परेको हो । पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी २.२८ प्रतिशतले बढेर तीन अर्ब १४ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी ३.२४ प्रतिशत घटेको छ । कुल सञ्चालन आम्दानी ४.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४४.६८ प्रतिशतले घटेको छ।
गत वर्ष ९१ करोड १३ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज बढेर एक अर्ब ८३ करोड २७ लाख रुपैयाँ पुगेको छ । जसका कारण सञ्चालन मुनाफा र नाफा प्रभावित भएको हो ।
यद्यपी यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा एक अर्ब १० करोड चार लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १४.१९ रुपैयाँ ऋणात्मक रहेको छ।
यसका साथै बैंकको खराब कर्जा पनि बढेको छ । गत वर्ष ४.८५ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ६.८६ प्रतिशत पुगेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा बैंकको यस्तो आम्दानी ४.३३ रुपैयाँ घटेर ३०.८६ रुपैयाँ पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४९.७९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.६८ गुणा रहेको छ।
पुस मसान्तसम्म १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा सात अर्ब ७२ करोड १२ लाख रुपैयाँ सञ्चित छ।
Advertisment