काठमाडौं : प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले पुस मसान्तसम्म एक अर्ब एक करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.०८ प्रतिशतले कमी आएको हो। गत वर्षको यही अवधिमा बैंकले एक अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकका अनुसार समीक्षा अवधिमा ब्याज आम्दानीमा वृद्धि भए पनि इम्पेरिमेन्ट चार्ज उल्लेख्य रूपमा बढ्नु तथा निष्क्रिय कर्जा ९एनपीएल० बढ्नु ले खुद नाफामा नकारात्मक असर परेको हो।
पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी २.२३ प्रतिशतले बढेर चार अर्ब ९८ करोड ४० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी ४.५९ प्रतिशतले र कुल सञ्चालन आम्दानी ०.४३ प्रतिशतले वृद्धि भएको छ।
तर, सञ्चालन मुनाफा भने २२.०५ प्रतिशतले घटेको छ। यसको मुख्य कारण इम्पेरिमेन्ट चार्जमा भएको तीव्र वृद्धि हो। गत वर्ष ८१ करोड ४२ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यस वर्ष बढेर एक अर्ब ४५ करोड ५६ लाख रुपैयाँ पुगेको छ।
यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २८.५१ रुपैयाँ ऋणात्मक देखिएको छ।
त्यसैगरी, बैंकको खराब कर्जा अनुपात (एनपीएल) पनि उल्लेख्य रूपमा बढेको छ। गत वर्ष ५.०६ प्रतिशत रहेको एनपीएल पुस मसान्तसम्म ७.०४ प्रतिशत पुगेको छ।
नाफामा गिरावट आएसँगै बैंकको प्रतिशेयर आम्दानी २.७३ रुपैयाँले घटेर ८.१२ रुपैयाँ मा सीमित भएको छ। पुस मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १४६.१७ रुपैयाँ रहेको छ भने मूल्य-आम्दानी अनुपात २१.२७ गुणा रहेको छ।
हाल बैंकको चुक्ता पूँजी २४ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब ८७ करोड पाँच लाख रुपैयाँ सञ्चित छ।
Advertisment