Below Menu
Below Menu

छ महिनामा निर्जीवन बीमा कम्पनीहरूको व्यापार साढे २३ अर्बमाथि !  

छ महिनामा निर्जीवन बीमा कम्पनीहरूको व्यापार साढे २३ अर्बमाथि !  

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो छ महिनामा निर्जीवन बीमा कम्पनीहरूले उल्लेख्य व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १४ लाख १९ हजार ५८४ बीमालेख बिक्री गरी २३ अर्ब ६७ करोड ३२ लाख २६ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले एक लाख ५७ हजार ६०९ बीमालेख जारी गरी २ अर्ब ७७ करोड ६४ लाख २७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

बीमाशुल्क संकलनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) दोस्रो स्थानमा रहेको छ । कम्पनीले पुुसुम्म एक लाख ३२ हजार २२ बीमालेख जारी गरी २ अर्ब ६१ करोड ३३ लाख २९ हजार बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ४९ लाख २९ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई अर्ब १९ करोड ६५ लाख २७ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार एनएलजी इन्स्योरेन्सले एक अर्ब ८७ करोड ९० लाख ७४ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियलले दुई अर्ब ६ करोड ८० लाख ९८ हजार रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले एक अर्ब ५३ करोड २२ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् ।

यसैगरी, नेपाल इन्स्योरेन्स कम्पनीले ९६ हजार ७२६ बीमालेख बिक्री गरी एक अर्ब १८ करोड १२ लाख ६० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले एक अर्ब ५० करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।

अन्य कम्पनीहरूमध्ये राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख ७७ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै नेशनल इन्स्योरेन्सले ६९ करोड ९३ लाख १९ हजार र प्रभु इन्स्योरेन्सले ९३ करोड ७२ लाख ६१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार चालु आवको छ महिनामा नेको इन्स्योरेन्सले एक अर्ब ८० करोड २८ लाख ५१ हजार रुपैयाँ र सानिमा जिआइसीले एक अर्ब ४२ करोड ८३ लाख ३७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

लघुबीमाको व्यवसाय साढे ४९ करोड नाघ्यो

चालु आवको  छ महिनामा निर्जीवन बीमा अन्तर्गत सञ्चालनमा रहेका चार लघुबीमा कम्पनीहरूले ६२ करोड ६७ लाख ३८ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । यस अवधिमा लघुबीमा कम्पनीहरूले दुई लाख ३० हजार ४९३ बीमालेख जारी गरेका हुन् ।

प्राधिकरणका अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले १६ करोड २९ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १७ करोड छ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले १३ करोड ७२ लाख रुपैयाँ र ट्रष्ट माइक्रो इन्स्योरेन्सले १५ करोड ५९ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् ।
 

Advertisment

थप समाचार