Below Menu
Below Menu

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४३ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४३ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक 

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४३.०५ प्रतिशत कम हो। गत वर्षको सोही अवधिसम्ममा बैंकले दुई अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा बैंकको ब्याज आम्दानी घट्दा नाफामा असर परेको हो । साथै बैंकको इम्पेरिमेन्ट चार्ज र निष्क्रिय कर्जा बढेका कारण पनि नाफा प्रभावित भएको हो । पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेर छ अर्ब ४२ करोड तीन लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी ८.६६ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४०.५९ प्रतिशतले घटेको छ। 

गत वर्ष एक अर्ब ७७ करोड ७५ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज बढेर तीन अर्ब नौ करोड ४६  लाख रुपैयाँ पुगेको छ । जसका कारण सञ्चालन मुनाफा र नाफा प्रभावित भएको हो । 

यद्यपी यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ६२ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २१.२२ रुपैयाँ ऋणात्मक रहेको छ।

यसका साथै बैंकको खराब कर्जा पनि बढेको छ । गत वर्ष ५.८६ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ७.९० प्रतिशत पुगेको छ। 

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा बैंकको यस्तो आम्दानी ७.१५ रुपैयाँ घटेर ९.४५ रुपैयाँ पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९४.७७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २०.२० गुणा रहेको छ।

पुस मसान्तसम्म ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३२ अर्ब ३४ करोड २० लाख रुपैयाँ सञ्चित छ।

Advertisment

थप समाचार