काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको छ महिनामा झण्डै साढे ९४ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार पुस मसान्तसम्म कम्पनीहरुले ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १४ लाख ५५ हजार २३५ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।
प्राधिकरणका अनुसार पुस महिनामा मात्रै कम्पनीहरुले तीन लाख ६३ हजार ६९६ बीमालेख जारी गरी १७ अर्ब ४७ करोड ४० लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् ।
पुस मसान्तसम्म आइपुग्दा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १७ लाख ४५ हजार ९३३ बीमालेख बिक्री गरी २५ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
प्राधिकरणका अनुसार यस अवधिमा नेशनल लाइफले १३ लाख ४२ हजार ६४५ बीमालेख जारी गरी ११ अर्ब ३७ करोड ३१ लाख २५ हजार रुपैयाँको व्यापार गरेको छ भने सूर्यज्योति लाइफले पाँच अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।
त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ लाख ९४ हजार ३४९ बीमालेख जारी गरी १० अर्ब २२ करोड ५३ लाख २४ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ भने हिमालयन लाइफले आठ अर्ब ६२ करोड २० लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।
प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच लाख ८५ हजार ५७६ बीमालेख जारी गरी छ अर्ब ६३ करोड २७ लाख रुपैयाँ बराबरको व्यापार गर्दा मेट लाइफले तीन अर्ब २४ करोड २१ लाख पाँच हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यस्तै एशियन लाइफले चार अर्ब ६४ करोड दुई लाख ७३ हजार रुपैयाँ बराबरको व्यवसाय गर्दा आईएमई लाइफले तीन अर्ब १८ करोड ९८ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले तीन अर्ब ६३ करोड ८२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
पुस मसान्तसम्म आइपुग्दा रिलायबल नेपाल लाइफले दुई अर्ब ९८ करोड ४४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले चार अर्ब चार करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
चालु आवको छ महिनामा सन नेपाल लाइफले दुई अर्ब ११ करोड ३९ लाख ६८ हजार र प्रभु महालक्ष्मी लाइफले दुई अर्ब ७९ करोड ६८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
लघुबीमाको व्यापार ५४ करोडमाथि
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । पुस मसान्तसम्म कम्पनीहरुले २२ लाख ८९ हजार ७९५ बीमालेख जारी गरी ५४ करोड ४९ लाख सात हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले १९ करोड ४७ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले १९ करोड ४८ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १५ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट २५ लाख ५ हजार १०६ बीमालेख जारी गरी एक अर्ब ७१ करोड ५६ लाख ८९ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
Advertisment