Below Menu
Below Menu

संकट पन्छाउँदै विकास बैंक: नाफामा ३४ प्रतिशतको वृद्धि, एक्सेल र सप्तकोशीको लोभलाग्दो ‘कमब्याक’ 

संकट पन्छाउँदै विकास बैंक: नाफामा ३४ प्रतिशतको वृद्धि, एक्सेल र सप्तकोशीको लोभलाग्दो ‘कमब्याक’ 

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा विकास बैंकहरुको जोखिम व्यवस्थापन र प्रोभिजनिङमा सुधार देखिएको छ । 

कर्जा नोक्सानीबापत छुट्याइएको इम्पेरमेन्ट चार्ज क्रमशः रिभर्स हुँदै जाँदा केही समयअघिसम्म दबाबमा रहेका अधिकांश विकास बैंकहरू पुनः नाफातर्फ फर्किएका छन् । 

पुस मसान्तसम्म विकास बैंकहरूले कुल तीन अर्ब ४३ करोड ४२ रुपैयाँ खुद नाफा कमाएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ३४.४४ प्रतिशतले बढी हो । गत वर्ष बैंकहरुको नाफा दुई अर्ब ५५ करोड ४५ लाख रुपैयाँ रहेको थियो । 

मजबुत बन्दै राष्ट्रिय स्तरका विकास बैंक

यस अवधिमा विशेषगरी राष्ट्रिय स्तरका विकास बैंकहरूको वित्तीय अवस्था मजबुत देखिएको छ । अधिकांश बैंकले प्रोभिजनिङ खर्च घटाउँदै सञ्चालन नाफा बढाउन सफल भएका छन् । 

राष्ट्रिय स्तरका विकास बैंकहरूले मात्रै पुस मसान्तसम्म तीन अर्ब ३१ करोड ११ लाख रुपैयाँ नाफा कमाएका हुन् । गत वर्ष यो नाफा दुई अर्ब ५८ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले चालु आवको छ महिनामा ६७ करोड २० लाख ४० हजार खुद नाफा कमाएको छ, जुन गत वर्षको ५४ करोड २८ लाख २० हजारको तुलनामा २३.८१ प्रतिशत बढी हो । 

त्यस्तै यस अवधिमा गरिमा विकास बैंकले ६३ करोड ५१ लाख ३० हजार, शाइन रेसुङ्गा विकास बैंकले ४० करोड ४२ लाख ८० हजार र कामना सेवा विकास बैंकले ३९ करोड ४५ लाख ५० हजार नाफा कमाएको छ । 

यसैगरी ज्योति विकास बैंकले ३१ करोड १२ लाख ७१ हजार नाफा कमाउँदा सांग्रिला डेभलपमेन्ट बैंकले ३० करोड २५ लाख ९७ हजार, महालक्ष्मी विकास बैंकले ३० करोड ५९ लाख ३१ हजार र लुम्बिनी विकास बैंकले २८ करोड ५३ लाख ७७ हजार नाफा कमाएको छ  । 

नाफामा फर्किए क्षेत्रीय स्तरका बैंक

यता क्षेत्रीय स्तरका बैंकहरुको अवस्था हेर्दा गत वर्ष घाटामा रहेका बैंकहरु पनि यस वर्ष नाफामा फर्किएका छन् । सप्तकोशी र एक्सेल डेभलपमेन्ट बैंकले अघिल्लो वर्षको घाटा पन्छाउँदै यस वर्ष उल्लेखनीय नाफा कमाएका छन् । 

यता क्षेत्रीय स्तरका बैंकहरुको रिपोर्ट हेर्दा पुस मसान्तसम्म मितेरी डेभलपमेन्टले ५ करोड ७० लाख ५ हजार रुपैयाँ नाफा कमाउँदा कर्पोरेट डेभलपमेन्ट एक करोड २९ लाख ४२ हजार र ग्रीन डेभलपमेन्ट बैंकले एक करोड १० लाख दुई हजार रुपैयाँ नाफा कमाएको छ । 

गत वर्ष दुई करोड ९९ लाख १७ हजार घाटामा रहेको सप्तकोशी डेभलपमेन्टले चालु आवको यस अवधिमा दुई करोड ६८ लाख २० हजार नाफा कमाएको छ । भने र गत वर्ष ९ करोड ५ लाख रुपैयाँ नोक्सानीमा रहेको एक्सेल डेभलपमेन्ट बैंकको नाफा पनि आठ करोड ८५ लाख ३६ हजार रुपैयाँ धनात्मक भएको छ । 

यद्यपि सालपा, सिन्धु र नारायणी विकास बैंक भने अझै घाटामै रहेका छन् । सालपा विकास बैंक २० लाख ४० हजार घाटामा छ भने सिन्धु विकास बैंक एक करोड ५४ लाख ६८ हजार र नारायणी डेभलपमेन्ट बैंक ४ करोड ७३ लाख ४७ हजार घाटामा छ । 

प्रकाशित विवरण अनुसार गत वर्ष ५२ लाख १३ हजार रुपैयाँ नोक्सानीमा रहेको नारायणी डेभलपमेन्ट बैंक थप नोक्सानीमा गएको छ । गत आवको सोही अवधिमा ४३.६९ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ५७.४८ प्रतिशत पुगेको छ । जसका कारण नोक्सानी बढेको हो । 

आठ बैंकले घटाए खराब कर्जा 

हाल सञ्चालनमा रहेका विकास बैंकहरुमध्ये आठ बैंकहरुले निष्क्रिय कर्जा घटाएका छन् । जसमा मुक्तिनाथ विकास बैंक, कामना सेवा, एक्सेल डेभलपमेन्ट, मितेरी डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट, ग्रीन डेभलपमेन्ट, सालपा र सिन्धु विकास बैंक रहेका छन् । 

प्रकाशित रिपोर्ट अनुसार विकास बैंकहरूमा पूँजी, कर्जा असुली र सञ्चालनमा भने चुनौती कायमै रहेको छ । सालपा र सिन्धु विकास बैंकले खराब कर्जा केही घटाए पनि बैंकहरुको प्रतिशेयर आम्दानी भने ऋणात्मक रहेको छ । 

Advertisment

थप समाचार