सिटी स्क्यान खरिदमा अनियमितता: पूर्व उपकुलपति डा. भण्डारीसहित १९ जनाविरुद्ध अख्तियारको मुद्दा 

सिटी स्क्यान खरिदमा अनियमितता: पूर्व उपकुलपति डा. भण्डारीसहित १९ जनाविरुद्ध अख्तियारको मुद्दा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा सिटी स्क्यान मेसिन खरिदका क्रममा  अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन उपकुलपति प्रा डा. संगिता सिंह भण्डारीसहित १९ जना व्यक्ति तथा एक कम्पनीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार प्रतिष्ठानका लागि १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गर्ने क्रममा सार्वजनिक खरिद ऐन तथा नियमावलीको गम्भीर उल्लङ्घन गरिएको पाइएको हो। कम गुणस्तरको मेसिन खरिद गरी नेपाल सरकार तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ बराबरको आर्थिक क्षति पुर्याइएको निष्कर्ष आयोगले निकालेको छ।

खरिद प्रक्रियामै बदनियत देखिएको अख्तियारको ठहर छ । अख्तियारका अनुसार खरिद आवश्यकता पहिचान, खरिद गुरुयोजना र कानुनी प्रक्रिया पूरा नगरी बदनियतपूर्वक खरिद प्रक्रिया अघि बढाइएको थियो। 

राष्ट्रियस्तरको बोलपत्र आह्वान गरिएको भए पनि अन्तर्राष्ट्रिय बोलपत्रका प्रावधान प्रयोग गरिएको, प्राविधिक स्पेसिफिकेशन बीचमै संशोधन गरिएको र लागत अनुमान अद्यावधिक नगरी प्रक्रिया अघि बढाइएको पाइएको छ।

साथै प्राविधिक मापदण्ड नपुगेको मेसिन स्वीकृत गरेको अख्तियारले जनाएको छ । अनुसन्धानबाट आपूर्ति गरिएको सिटी स्क्यान मेसिन तोकिएको प्राविधिक स्पेसिफिकेशनअनुसार योग्य नरहेको खुलेको आयोगको भनाई छ। 

मेसिनको प्रमुख प्राविधिक क्षमता आवश्यक स्तरभन्दा कम भए पनि मूल्याङ्कन प्रतिवेदनमा झुटा विवरण उल्लेख गरी ‘योग्य’ ठहर गरिएको आयोगको आरोप छ।

त्यस्तै, आंशिक रूपमा क्षतिग्रस्त अवस्थामा रहेको मेसिनलाई समेत स्वीकार गरी भुक्तानी दिइएको पाइएको छ। राष्ट्रियस्तरको खरिद हुँदाहुँदै अमेरिकी डलरमा सम्झौता गरी लेटर अफ क्रेडिट खोलिएको, त्यससम्बन्धी सम्पूर्ण अतिरिक्त खर्च प्रतिष्ठानले व्यहोरेको र प्राविधिक परीक्षण तथा स्वीकृति प्रक्रिया पूरा नगरी अन्तिम भुक्तानी गरिएको अख्तियारले जनाएको छ। यसबाट प्रतिष्ठानलाई थप ६ लाख ५८ हजार रुपैयाँभन्दा बढी आर्थिक भार परेको देखिएको छ।

मुद्दामा तत्कालीन उपकुलपति प्रा. डा. संगिता सिंह भण्डारीसँगै तत्कालीन रजिष्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख, बायोमेडिकल इन्जिनियरहरू, खरिद शाखाका कर्मचारीहरू तथा सिटी स्क्यान मेसिन आपूर्तिकर्ता कम्पनी हिमालयन मेडिटेक प्रालिका सञ्चालकसमेतलाई प्रतिवादी बनाइएको छ।

अख्तियारले प्रतिवादीहरूबाट बिगो रकम असुल उपर गर्नुका साथै भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना सजाय मागदाबी गरेको जनाएको छ।

थप समाचार