Below Menu
Below Menu

गोकर्ण फरेष्ट रिसोर्टले गर्यो ४५ करोड २० लाखको व्यापार, नाफा मार्जिनमा पनि उल्लेख्य सुधार 

गोकर्ण फरेष्ट रिसोर्टले गर्यो ४५ करोड २० लाखको व्यापार, नाफा मार्जिनमा पनि उल्लेख्य सुधार 

काठमाडौं : गोकर्ण फरेष्ट रिसोर्टले सन् २०२५ मा ४५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.८७ प्रतिशतले बढी हो। इक्रा नेपालका अनुसार, कम्पनीको व्यापार सन् २०२४ मा ४१ करोड ९० लाख रुपैयाँ थियो।

यसअघि सन् २०२३ मा कारोबार ४२ करोड, सन् २०२२ मा ३३ करोड ९० लाख, र सन् २०२१ मा १२ करोड ७० लाख रुपैयाँ रहेको थियो।

कारोबार वृद्धि संगै सञ्चालन नाफा मार्जिन पनि सुधार भएको छ। सन् २०२४ मा १९ प्रतिशत रहेको मार्जिन सन् २०२५ मा २६ प्रतिशत पुगेको छ। यसअघि सन् २०२२ र २०२३ मा नाफा मार्जिन २३ प्रतिशत रहेको थियो भने सन् २०२१ मा ३० नकारात्मक प्रतिशत थियो।

इक्रा नेपालले कम्पनीको बलियो ब्रान्ड इमेज, ‘युनिक भ्यालु’ र गल्फ सदस्यता शुल्क नवीकरण तथा संशोधनलाई कम्पनीको सबल पक्षका रूपमा उल्लेख गरेको छ। विगत तीन वर्षमा १० प्रतिशतको राजस्व वृद्धिले सञ्चालन नाफा मार्जिनमा सुधार ल्याएको छ।

कम्पनीको सञ्चालन प्रोफाइलमा पर्यटन क्षेत्रमा लामो अनुभव भएका यति÷थामसेर्कु समूहको संलग्नताले पनि योगदान पुर्याएको रिपोर्टमा उल्लेख छ।  

रिसोर्टको स्थिर अकुपेन्सी हाल ४४–४५ प्रतिशतमा सिमित रहेको छ। गोकर्ण अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण ढिलाइले लागत बढ्ने जोखिम रहेको छ, र भौतिक प्रगति हाल ५२ प्रतिशत मात्र पुगेको छ। कम्पनीको कार्यपूँजी तीव्रता ७६ प्रतिशत रहेको छ, जसले तरलतामा केही दबाब सिर्जना गर्ने इक्राले जनाएको छ । 

रिपोर्ट अनुसार ऋण संरचनामा भने कम्पनीले नियन्त्रण कायम राखेको छ। सन् २०२५ का लागि ब्याज कभरेज अनुपात ३.२ गुणा र ऋण सेवा कभरेज अनुपात १.८ गुणा रहेको छ। कम्पनीले हालको परियोजनाको पूँजीगत खर्चको २० प्रतिशत आन्तरिक स्रोतबाट वित्त पोषण गर्ने योजना बनाएको छ।

गोकर्ण फरेष्ट रिसोर्टले १९९५ देखि १०० कोठाको बुटिक रिसोर्ट सञ्चालन गर्दै आएको छ। ४७० एकड वनमा फैलिएको यस रिसोर्टले गल्फ कोर्स, घोडा चढाइ, वन पदयात्रा लगायतका सुविधाहरू प्रदान गर्दै आएको छ। 

बैंकिङ कर्जा सुविधाका लागि कम्पनीले ७३ करोड ५० लाख रुपैयाँको रेटिङ गरेको छ । जसमा ६५ करोड ५० लाख दीर्घकालीन र ७ करोड अल्पकालीन कर्जा रहेको छ । 

Advertisment

थप समाचार