नोम्यड हस्पिट्यालिटीको छैटौँ वर्षः काठमाडौंपछि अब पोखरा र मुक्तिनाथमा सेवा विस्तार गर्दै 

नोम्यड हस्पिट्यालिटीको छैटौँ वर्षः काठमाडौंपछि अब पोखरा र मुक्तिनाथमा सेवा विस्तार गर्दै 

काठमाडौं : काठमाडौंको लाजिम्पाटबाट सुरु भएको नोम्यड हस्पिट्यालिटीले आफ्नो यात्राको छ वर्ष पूरा गर्दै अब उपत्यकाबाहिर सेवा विस्तारको तयारी गरेको छ।

आतिथ्य सेवामा बुटिक अवधारणा र पर्यटकमैत्री सेवाका लागि परिचित यो समूहले पर्यटकीय राजधानी पोखरा र धार्मिक गन्तव्य मुक्तिनाथमा नयाँ आउटलेट सञ्चालन गर्ने घोषणा गरेको हो।

स्थापनाको छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कम्पनीले पोखराको चर्चित लेकसाइड क्षेत्रमा नयाँ बुटिक होटल खोल्ने जानकारी दिएको छ। फेवा तालबाट केही कदमको दूरीमा रहने उक्त होटलले पोखराको आतिथ्य बजारमा फरक अनुभव थप्ने विश्वास लिइएको छ।

नोम्यड होटल ‘ले–शेर्पा कन्सेप्ट’ अन्तर्गत सञ्चालन हुँदै आएको छ। हाल काठमाडौं उपत्यकाभित्र मात्र ९ वटा होटल, रेस्टुरेन्ट तथा आतिथ्य सेवा केन्द्र सञ्चालन गरिरहेको समूहले अब छिट्टै थप ४ वटा नयाँ आउटलेट थप्न लागेको हो। तीमध्ये तीनवटा पोखरामा र एउटा मुस्ताङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र मुक्तिनाथमा सञ्चालन हुने कम्पनीले जनाएको छ।

यससँगै नोम्यड हस्पिट्यालिटीको कूल आउटलेट संख्या १३ पुग्नेछ। पोखरामा खुल्ने नयाँ होटलसँगै पियानो पियानो रेस्टुरेन्ट र फार्म शप पनि सञ्चालनमा आउनेछन्, जसले लेकसाइडलाई एक जीवन्त र बहुआयामिक आतिथ्य गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

त्यस्तै मुक्तिनाथमा सञ्चालनमा ल्याइने एमटीआर रेस्टुरेन्टले तीर्थयात्री र पर्यटकलाई आरामदायी वातावरणसँगै गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको दाबी छ।

३१ अक्टोबर २०१९ मा काठमाडौंमा पहिलो नोम्यड होटल खुलेसँगै समूहले छोटो समयमै आफ्नो पहिचान बनाएको छ। आकर्षक बुटिक डिजाइन, शान्त वातावरण र व्यक्तिगत सेवाका कारण यो होटल विशेषगरी ठमेल आसपासका कोलाहलबाट टाढा बस्न चाहने विदेशी पर्यटकहरूको रोजाइमा पर्दै आएको छ।