काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित तीन जना कर्मचारीलाई घुस÷रिसवत, स्रोत नखुलेको रकम तथा २३ थान मोबाइल सेटसहित नियन्त्रणमा लिएको छ।
कुरियर कम्पनीमार्फत विदेशमा सामान पठाउने क्रममा सेवाग्राहीसँग घुस माग गरिएको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले माघ १८ गते गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट उनीहरूलाई पक्राउ गरेको हो। आयोगका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।
पक्राउ पर्नेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी तथा संचार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभाग, गोश्वारा हुलाक कार्यालयको पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाल रहेका छन्।
अख्तियारको टोलीले कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षस्थित टेबुलको घर्राबाट घुसररिसवतबापत लिइसकेको १० हजार, स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ तथा निजको साथबाट थप स्रोत नखुलेको ९६ हजार ७० रुपैयाँ गरी कुल एक लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरेको छ।
त्यस्तै, नायब सुब्बा छवि प्रसाद रिजालको साथबाट घुसररिसवतबापत लिइसकेको २० हजार रुपैयाँ र स्रोत नखुलेको १८ हजार ८४८ रुपैयाँ समेत गरी ३८ हजार ८४८ रुपैयाँ बरामद गरिएको छ। अन्य स्रोत नखुलेको रकमसमेत जोड्दा कुल दुई लाख ६८ हजार २८८ रुपैयाँ तथा विभिन्न व्यक्तिहरूबाट संकलन गरिएको मोबाइल सेट २३ थान पनि नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
घटनासम्बन्धी अनुसन्धान जारी रहेको र दोषी ठहरिए कानुनअनुसार कारबाही गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्ट पारेको छ।
Advertisment