काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा साढे १० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो ।
चालु आवको पुस महिनामा मात्रै एक खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।
पुस मसान्तसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय आठ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ९४ हजार ७३३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ३० हजार ४३९ र १ लाख ६२ हजार ६२८ रहेको थियो ।
Advertisment