काठमाडौं : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को पहिलो छ महिनासम्म (२०८२ पुस मसान्त)को तथ्याङ्कअनुसार देशको समग्र आर्थिक तथा वित्तीय अवस्था तुलनात्मक रूपमा सन्तुलित देखिएको छ।
यस अवधिमा उपभोक्ता मुद्रास्फीति उल्लेख्य रूपमा घटेको छ । पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहँदा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.६७ प्रतिशत र ४.१९ प्रतिशत थियो। चालु आवको छ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.९७ प्रतिशतको तुलनामा निकै कम हो।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको उपभोक्ता मूल्य सूचकाङ्क ५.२० प्रतिशत, घ्यू तथा तेलको ४.९६ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ३.०४ प्रतिशतले बढेको छ। यद्यपि दाल तथा गेडागुडी (५.५२ प्रतिशत), मरमसला (३.९२ प्रतिशत) तथा खाद्य तथा खाद्यजन्य पदार्थ (३.७० प्रतिशत) को मूल्य घटेको छ।
गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा उप–समूहको मूल्य २१.७५ प्रतिशतले बढेको छ। त्यसैगरी शिक्षा (७.५६ प्रतिशत), कपडाजन्य तथा जुत्ताचप्पल (५.२९ प्रतिशत), सुर्तीजन्य पदार्थ (४.१५ प्रतिशत) र मदिराजन्य पेय पदार्थ (३.८५ प्रतिशत) को मूल्य वृद्धि भएको छ।
बीमा तथा वित्तीय सेवा उप–समूहको मूल्य भने ०.०३ प्रतिशतले घटेको छ। क्षेत्रगत रूपमा हेर्दा पुस महिनामा ग्रामीण क्षेत्रको उपभोक्ता मूल्य सूचकाङ्क १.९९ प्रतिशत र सहरी क्षेत्रको २.५७ प्रतिशतले बढेको छ।
प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढी ३.३७ प्रतिशत मुद्रास्फीति देखिएको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम १.०८ प्रतिशत रहेको छ। काठमाडौं उपत्यकाको मुद्रास्फीति २.४८ प्रतिशत, तराईको २.६५ प्रतिशत, पहाडको १.९४ प्रतिशत र हिमाली क्षेत्रको २.६६ प्रतिशत रहेको छ।
यसैबीच, थोक मुद्रास्फीतितर्फ हेर्दा पुस महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.१७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको ४.०१ प्रतिशतभन्दा बढी हो।
उपभोग्य वस्तुको थोक मुद्रास्फीति २.५८ प्रतिशत रहँदा मध्यवर्ती वस्तुमा ७.०७ प्रतिशत र पुँजीगत वस्तुमा २.५८ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ३.४८ प्रतिशतले बढेको छ।
Advertisment