साधारणसभाले दिपबहादुर छन्त्यालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। नेपाल छन्त्याल संघका पूर्वअध्यक्ष तथा निर्वाचन समितिका संयोजक इन्द्रजीत छन्त्यालद्वारा घोषित निर्विरोध निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा मिमप्रसाद छन्त्याल (लाम्मेला), सचिवमा देवमति छन्त्याल (निसी), कोषाध्यक्षमा थममाया छन्त्याल (खुंखानी) र सहसचिवमा भ्रमबहादुर छन्त्याल (घोषाखानी) चयन भएका छन्।
काठमाडौं : छन्त्याल सर्वमान्य फाउण्डेशनको १२औँ स्मृति दिवस तथा दशौँ वार्षिक साधारणसभा आज नेपाल छन्त्याल संघको केन्द्रीय कार्यालय मनमैजु, काठमाडौंमा सम्पन्न भएको छ।
छन्त्याल जातिको उत्पत्ति र इतिहासको खोजी, भाषा तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले जातीय उत्थान र पहिचानका अभियन्ता छन्त्याल समुदायका संस्थापक अध्यक्ष तथा सर्वमान्य स्व. दिलबहादुर छन्त्यालको स्मृतिमा २०७२ सालमा स्थापना भएको थियो ।
त्यसैगरी सदस्यहरूमा यामबहादुर छन्त्याल (नर्जाखानी), तारादेवी गौचन छन्त्याल (मंगलेखानी), लोकशंकर छन्त्याल (बोङ्गखानी) र नरकुमारी छन्त्याल (घैयाखानी) रहेका छन्।
नेपाल छन्त्याल संघ केन्द्रीय समितिका अध्यक्ष हरिचन छन्त्यालको अध्यक्षता तथा छन्त्याल सर्वमान्य फाउण्डेशनको सहअध्यक्षतामा संयुक्त रूपमा आयोजित स्व. दिलबहादुर छन्त्यालको १२औँ स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथि तथा छन्त्याल संघका पूर्वअध्यक्ष एवं संरक्षक मनिचन छन्त्याल, पूर्वअध्यक्ष इन्द्रजीत छन्त्याल, सल्लाहकार मिमप्रसाद छन्त्याल र बेलायत छन्त्याल संघका पूर्वअध्यक्ष हेमप्रसाद छन्त्यालले स्व. दिलबहादुर छन्त्यालको योगदान र महत्त्वबारे चर्चा गरे।
सो अवसरमा फाउण्डेशनका नवनिर्वाचित अध्यक्ष दिपबहादुर छन्त्यालले संस्था स्थापना देखि हालसम्मको १० वर्षको अवधिमा देश–विदेशमा रहेका ८८ जना छन्त्याल दाजुभाइ तथा दिदीबहिनीहरूबाट न्यूनतम ११,२३२ रुपैयाँदेखि अधिकतम २० लाख रुपैयाँसम्म गरी कुल ७९,५५,८३७ रुपैयाँ कोष संकलन भएको जानकारी दिए। उनले उदारतापूर्वक आर्थिक सहयोग गर्ने सबै दाता तथा कोष स्थापनामा प्रमुख भूमिका खेल्ने बेलायत छन्त्याल संघप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गरे।
फाउण्डेशनको पछिल्लो आर्थिक विवरणअनुसार १० वर्षको अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट प्राप्त ब्याज रकम ७१,८०,८७३ रुपैयाँसहित कुल १ करोड ५१ लाख ३६ हजार ७ सय १० रुपैयाँ कोष संकलन भएको जानकारी दिइयो। साथै स्थापनाकालदेखि हालसम्म विभिन्न शीर्षकमा कुल १३,५४,६४९ रुपैयाँ खर्च भएको पनि जानकारी दिइयो। अध्यक्ष छन्त्यालले छन्त्याल जातिको सर्वोपरि हित र उत्थानका लागि नेपाल छन्त्याल संघसँग सधैँ हातेमालो गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
छन्त्याल संघका महासचिव समप्रसाद छन्त्यालको सञ्चालन तथा फाउण्डेशनका कोषाध्यक्ष थममाया छन्त्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा फाउण्डेशनलाई आर्थिक सहयोग गर्ने दाताहरू तमबहादुर छन्त्याल (छापखानी) १,०५,००५ रुपैयाँ, तिलकुमारी छन्त्याल (लाम्मेलाखानी) ५५,५५५ रुपैयाँ, लालबहादुर छन्त्याल (नर्जाखानी) ३८,८०० रुपैयाँ, लिलप्रसाद छन्त्याल (नर्जाखानी) ३८,८०० रुपैयाँ, तारादेवी गौचन छन्त्याल (मंगलेखानी) २५,००० रुपैयाँ, नरकुमारी छन्त्याल (घैयाखानी) २५००० र लोकशंकर छन्त्याल (बोङ्गखानी) २५,००० रुपैयाँलाई सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको थियो।
त्यसैगरी नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समिति तथा छन्त्याल संघका अध्यक्ष हरिचन छन्त्याल र महासचिव समप्रसाद छन्त्यालले बधाई ज्ञापन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै छन्त्याल संघका अध्यक्ष हरिचन छन्त्यालले फाउण्डेशनसँग मिलेर उपलब्धिमूलक काम गर्ने विश्वास व्यक्त गर्दै यो अभियान सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरे।
कार्यक्रममा छन्त्याल सर्वमान्य फाउण्डेशन तथा नेपाल छन्त्याल संघका पदाधिकारी, सदस्यहरू तथा भातृसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
Advertisment