काठमाडौं : नेपालकाे प्रमुख डायरेक्ट-टु-होम (डीटीएच) सेवा प्रदायक डिस मिडिया नेटवर्क लिमिटेडको कारोबारमा गत आर्थिक वर्षमा गिरावट आएको छ । सन् २०२५ मा कम्पनीको कुल कारोबार ४ अर्ब १८ करोड ३० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशत कम हो ।
सन् २०२४ मा कम्पनीले पाँच अर्ब १७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि सन् २०२३ मा कम्पनले ५ अर्ब ११ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । व्यापार घटेसँगै सञ्चालन नाफामा पनि गिरावट देखिएको छ ।
कम्पनीको सञ्चालन लागत बढेसँगै ग्राहक आधार घट्दा डीटीएच आम्दानीमा ३६ प्रतिशत गिरावट आएको छ । यद्यपी इन्टरनेट सेवा (आईएसपी) र आईपीटीभी आम्दानी स्थिर रहेको छ । सञ्चालन नाफा पनि २५.२१ प्रतिशतबाट १३.०८ प्रतिशतमा झरेको छ ।
सन् २०२५ मा कम्पनीको करअघिको नाफा पनि ९६ करोड २० लाख रुपैयाँ नकारात्मक रहेको छ । कम्पनीको कुल ऋण÷संचालन नगद प्रवाह ८.९५ बाट ६५.०२ पुगेको छ ।
उच्च पूँजीगत खर्च र ऋण संरचनाका कारण वित्तीय भार बढेको छ भने विदेशी मुद्रा जोखिम पनि बढेको रिपोर्टमा उल्लेख छ । ग्राहक उपकरण मुख्य रूपमा चीनबाट आयात हुने हुँदा सन् २०२५ मा कम्पनीले २९ करोड १० लाख रुपैयाँको विदेशी मुद्रा घाटा व्यहोरेको छ ।
केयर रेटिङको रिपोर्ट अनुसार कम्पनीको डीटीएच र आईएसपी सेवा पूँजी र प्रविधि–प्रधान क्षेत्र भएकाले दीर्घकालीन लगानी र उच्च सञ्चालन खर्च आवश्यक पर्छ । ओटीटी सेवाको वृद्धि, स्मार्टफोन र स्मार्ट टीभीको पहुँचले परम्परागत ग्राहक आधारमा दबाब थपेको छ ।
कम्पनी सन् २०१० देखि सञ्चालनमा रहेको छ । हाल देशभर ७४ डिलर, ४,२०० उप–डिलर, १४ सेवा केन्द्र, १,७०० भन्दा बढी फ्रान्चाइजी र १६,५०० बिक्री बिन्दुहरू मार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको शेयरमा स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडको २२ प्रतिशत हिस्सा रहेको छ ।
कम्पनीको वित्तीय सुधार मुख्यतः डीटीएच ग्राहक कायम राख्ने, आईएसपी ग्राहक वृद्धि, मार्जिन सुधार र पूँजीगत खर्च व्यवस्थापनमा निर्भर रहनेछ । हाल कम्पनीले ५१ एचडी र ५८ एसडी च्यानल सहित १०९ च्यानल प्रदान गर्दै आएको छ र ओटीटी सेवा ‘डिसहोम गो’ मार्फत १०० प्रिमियम लिनियर च्यानल र १००० भन्दा बढी भिडियो सामग्री उपलब्ध गराइरहेको छ।
कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि १२ अर्ब ६४ करोड रुपैयाँको रेटिङ गराएको छ। दीर्घकालिन कर्जाका लागि ६ अर्ब ९१ करोड ६८ लाख, अल्पकालिन कर्जाका लागि ५ अर्ब ७२ करोड ४० लाख रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीको अध्यक्ष हेम राज ढकाल रहेका छन् । उनी चन्द्रागिरी हिल्स लिमिटेडका पनि अध्यक्ष पनि हुन् । डिस मिडिया नेटवर्कले आफूलाई डिजिटल टिभी, आईपीटीभी, क्लाउड र अन्य डिजिटल सेवामा विविधीकरण गर्दै परम्परागत डीटीएच बजारमा दबाबका बावजुद इन्टरनेट र ओटीटी सेवा विस्तार गर्दै आएको छ।
Advertisment