काठमाडौं : दोलखाको कालिन्चोक क्षेत्रमा केबलकार सेवा सञ्चालन गर्दै आएको कालिन्चोक दर्शन लिमिटेडले सन् २०२५ मा ७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ।
केयर रेटिङ नेपालका अनुसार यो अघिल्लो वर्षको तुलनामा करिब ७ प्रतिशतले कम हो। सन् २०२४ मा कम्पनीको व्यापार ८ करोड ६० लाख रुपैयाँ रहेको थियो भने सन् २०२३ मा ७ करोड ६० लाख रुपैयाँ थियो।
कम्पनीका अनुसार सन् २०२५ मा प्रतिकूल मौसम र पर्यटक आगमनमा आएको कमीका कारण आम्दानी घटेको हो। ३,८५० मिटर उचाइमा रहेको परियोजनास्थलमा प्रतिकूल मौसम, तेज हावा, आँधी–तूफान तथा मनसुनका कारण समय–समयमा सञ्चालन अवरुद्ध हुँदै आएको छ। साथै, पर्यटक आगमन मौसमी हुने भएकाले कम्पनीको ठूलो हिस्सा हिउँद तथा शरद ऋतु (नोभेम्बर–मार्च) मा केन्द्रित रहने गरेको छ।
कालिन्चोक दर्शन लिमिटेडले दोलखाको कुरी उपत्यकामा सञ्चालन गरिरहेको केबलकार सेवामार्फत पर्यटन केन्द्रित व्यवसायलाई निरन्तरता दिइरहेको छ। कम्पनीको आम्दानी मुख्यतः एउटै केबलकार परियोजनाबाट आउने भएकाले भौगोलिक तथा राजस्व एकाग्रता जोखिम रहेको केयर रेटिङले उल्लेख गरेको छ। यद्यपि, अनुभवी प्रवद्र्धक, रणनीतिक स्थान र कम ऋण–भारका कारण कम्पनीको समग्र वित्तीय स्थिति सन्तोषजनक देखिएको छ।
सन् २०२५ को अन्त्यसम्म कम्पनीसँग ४४ करोड रुपैयाँ नगद संचित रहेको छ। सो वर्ष आगन्तुक संख्या करिब ७ प्रतिशतले घटे पनि सञ्चालन मार्जिन ६५ प्रतिशतभन्दा माथि स्थिर रहेको छ। गत आर्थिक वर्षमा कुल १ लाख ५३ हजार ७९७ जना पर्यटकले केबलकार सेवा उपयोग गरेका थिए।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा भने कम्पनीको व्यापारमा सुधार देखिएको छ। सो अवधिमा ७१ हजार ९ सय ८५ जना पर्यटकले केबलकार सेवा लिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब २१ प्रतिशतले बढी हो। यससँगै कम्पनीको आम्दानी ३ करोड ५० लाख रुपैयाँ पुगेको छ, जब कि अघिल्लो वर्ष सोही अवधिमा ३ करोड १० लाख रुपैयाँ आम्दानी भएको थियो।
वित्तीय सूचकांकका हिसाबले कम्पनीको ऋण–इक्विटी अनुपात ०.१२ गुणामा सीमित छ, जसले कम गियरिङ प्रोफाइल देखाएको छ । ब्याज कभरेज अनुपात ५.६३ गुणा पुगेको छ भने कुल ऋण–नगद संचित अनुपातमा पनि सुधार देखिएको छ।
व्यवसाय विस्तार योजनाअन्तर्गत कालिन्चोक दर्शन लिमिटेडले केबलकारसँगै होटल सेवा सञ्चालन गर्ने तयारी गरेको छ। कम्पनीले करिब ३५ करोड रुपैयाँ लगानीमा ३० कोठे होटल निर्माण गर्ने प्रस्ताव अघि सारेको छ। होटल परियोजना हाल प्रारम्भिक योजना चरणमै रहेको छ।
कम्पनीले होटल परियोजनाका लागि आवश्यक सम्पूर्ण लगानी १ः१ को अनुपातमा अधिकार शेयर जारी गरी इक्विटीमार्फत जुटाउने योजना बनाएको छ। सन् २०२५ को अन्त्यसम्म कम्पनीको चुक्ता पूँजी ६३ करोड रुपैयाँ पुगेको छ, जुन ५ प्रतिशत बोनस शेयर वितरणपछि ६० करोड रुपैयाँबाट वृद्धि भएको हो।
केयर रेटिङका अनुसार होटल परियोजना अझै योजना चरणमै रहेकाले समयमै कार्यान्वयन नहुनु, लागत बढ्नु वा प्राविधिक तथा व्यवस्थापनसम्बन्धी चुनौतीहरू देखिन सक्ने जोखिम कम्पनीका लागि प्रमुख चुनौतीका रूपमा रहेको छ।
समग्र पर्यटन उद्योगको परिदृश्य भने सकारात्मक देखिएको छ। सरकारले पर्यटनलाई प्राथमिकता दिँदै कर छुट र बजेट विनियोजन बढाएको छ भने “पर्यटन दशक” घोषणाले दीर्घकालीन सम्भावना मजबुत बनाएको छ। यद्यपि, प्राकृतिक प्रकोप, राजनीतिक गतिविधि र बाह्य जोखिमप्रति उद्योग अझै संवेदनशील नै रहेको छ।
कालिन्चोक दर्शन लिमिटेड जनवरी २०, २०१५ मा स्थापना भएको एक सार्वजनिक सीमित कम्पनी हो। दोलखाको कालिन्चोकमा सञ्चालन भइरहेको यस परियोजनामा करिब १ किलोमिटर लामो केबलकार यात्रा समावेश छ, जसले कुरी उपत्यकाको तल्लो स्टेशनबाट कालिन्चोक मन्दिरसम्म यात्रु ढुवानी गर्छ। परियोजनामा जम्मा ४ वटा गोन्डोला छन्, जसको एकतर्फी क्षमता प्रति घण्टा १९२ यात्रु ढुवानी गर्ने रहेको छ। कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी रहेका छन्।
Advertisment