काठमाडौं : नारायणी रोलिङ मिल्स प्रालि (एनआरपीएल) को व्यापार ३८.२९ प्रतिशतले बढेको छ । केयर रेटिङ नेपालका अनुसार सन् २०२५ मा कम्पनीको व्यापार दुई अर्ब ८७ करोड १० लाख रुपैयाँ पुगेको छ।
यसअघि सन् २०२४ मा कम्पनीको व्यापार दुई अर्ब सात करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा दुई अर्ब ८० करोड ३० लाख रुपैयाँ रहेको थियो। कारोबारसँगै कम्पनीको नाफा मार्जिनमा पनि सुधार देखिएको छ। सन् २०२४ मा २.५५ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा बढेर ३.२१ प्रतिशत पुगेको छ।
नाफातर्फ हेर्दा कम्पनीले सन् २०२४ मा करिब तीन करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा सन् २०२५ मा यो बढेर करिब १५ करोड रुपैयाँ पुगेको छ। यसैगरी, ग्रस क्यास एक्रुअल्स दोब्बर हुँदै ४८ करोड रुपैयाँ पुगेको केयर रेटिङको प्रतिवेदनमा उल्लेख छ।
यद्यपि, कम्पनीको पूँजी संरचना अझै पनि मध्यम रूपमा ऋणमा आधारित रहेको जनाइएको छ। सन् २०२५ को अन्त्यसम्म समग्र गियरिङ अनुपात २.७० गुणा पुगेको छ, जुन अघिल्लो वर्ष १.८३ गुणा थियो। ऋण वृद्धि भएसँगै ब्याज खर्च बढे पनि ब्याज कभरेज अनुपात २.१० गुणामा सुधार भएको छ।
रेटिङ प्रतिवेदनले कच्चा पदार्थको मूल्य उतारचढाव, विदेशी मुद्रा जोखिम, ब्याजदरको अस्थिरता तथा नेपालकै अत्यधिक प्रतिस्पर्धी इस्पात उद्योगमा कम्पनीले सामना गर्नुपर्ने चुनौतीहरू औंल्याएको छ। कच्चा पदार्थ लागत र ट्रेडिङ खरिदले कुल सञ्चालन आम्दानीको करिब ९६ प्रतिशत हिस्सा ओगट्ने भएकाले मूल्य वृद्धिले नाफामा प्रत्यक्ष असर पार्ने जोखिम कायमै रहेको उल्लेख गरिएको छ।
यद्यपि, कम्पनीका प्रवर्द्धक तथा व्यवस्थापन टोलीको लामो अनुभव, स्थिर सञ्चालन चक्र, भारत–नेपाल सीमासँग नजिकको भौगोलिक लाभ र “नारायणी स्टिल्स” ब्रान्डअन्तर्गत स्थापित बजार सञ्जाल कम्पनीका प्रमुख सबल पक्षका रूपमा चिनाइएको छ। बारा जिल्लाको चटापिपरामा अवस्थित उत्पादन इकाइ भारतबाट आयात हुने कच्चा पदार्थका लागि लागत–प्रभावी मानिन्छ।
केयाल समूहअन्तर्गत रहेको एनआरपीएलले वार्षिक ४८ हजार ३०० मेट्रिक टन क्षमतामा इस्पात उत्पादन गर्दै आएको छ। काठमाडौं उपत्यकासहित देशभर १२९ भन्दा बढी क्षेत्रमा फैलिएको डिलर तथा वितरण सञ्जालले कम्पनीको बजार पहुँचलाई थप मजबुत बनाएको रिपोर्टमा उल्लेख छ ।
कम्पनीले बैकिङ कर्जा सुविधाका लागि कुल एक अर्ब ६९ करोड २१ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ। जसअन्तर्गत दीर्घकालीन कर्जाका लागि सात करोड २८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि एक अर्ब ६१ करोड ९२ लाख रुपैयाँ रहेको छ ।
एनआरपीएलले टीएमटी बार, एङ्गल, फ्ल्याट, सेक्शन तथा अन्य सहायक इस्पात उत्पादनमा दुई दशकभन्दा बढीको सञ्चालन अनुभव हासिल गरिसकेको छ। कम्पनीका प्रवर्द्धकहरूलाई इस्पात तथा निर्माण सामग्री उत्पादन क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव रहेको छ।
नारायणी रोलिङ मिल्स प्रालि एक निजी सीमित कम्पनी हो, जसको स्थापना सन् १९९२ मे १५ मा भएको हो। कम्पनीले सन् १९९५ देखि नेपालमा इस्पात उत्पादन सुरु गरेको हो।
कम्पनीका अध्यक्ष तथा केयाल समूहका अध्यक्ष सत्य नारायण केयाललाई व्यापार तथा उत्पादन क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव छ भने निर्देशक अनुज केयाल समूहअन्तर्गत नयाँ उद्योग स्थापना तथा विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
Advertisment