काठमाडौं : सरकारले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ। अर्थमन्त्री डा. रामेश्वर खनालले मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी बजेट कार्यान्वयनको छ महिनाको प्रगति विवरण सार्वजनिक गर्ने तयारी गरेका हुन्। चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अपेक्षाकृत सुस्त देखिएको छ ।
अर्थ मन्त्रालयका अनुसार समीक्षा प्रतिवेदनमा पहिलो छ महिनामा भएको खर्च र आम्दानीको यथार्थ अवस्था प्रस्तुत गरिनेछ भने बाँकी छ महिनाका लागि खर्च र राजस्व दुवैका लक्ष्य संशोधन गरिनेछ। यद्यपि, संशोधनको परिमाण कति हुनेछ भन्ने विषयमा मन्त्रालयले औपचारिक जानकारी दिएको छैन।
सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो। यसमध्ये १५ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ भने बाँकी ५ खर्बभन्दा बढी रकम सार्वजनिक ऋणमार्फत व्यवस्थापन गर्ने योजना रहेको छ।
तर महालेखा नियन्त्रक कार्यालयका तथ्यांकअनुसार बजेट कार्यान्वयनको गति लक्ष्यअनुसार अघि बढ्न सकेको छैन। २७ माघसम्म जम्मा ७ खर्ब ९२ अर्ब १० करोड रुपैयाँ मात्रै खर्च भएको छ, जुन कुल विनियोजित बजेटको ४०।३३ प्रतिशत हो।
राजस्व संकलनतर्फ पनि स्थिति उत्साहजनक देखिँदैन। समीक्षा अवधिमा ६ खर्ब ७० अर्ब २० करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ४३.७१ प्रतिशत हो।
आय–व्ययको तुलनात्मक विश्लेषण गर्दा छ महिनामै सरकार १ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको देखिन्छ। खर्चको दबाब बढ्दै जाँदा राजस्व संकलन कमजोर रहनुले बजेट सन्तुलनमा चुनौती थपिएको अर्थविद्हरूको भनाइ छ।
अब सार्वजनिक हुने अर्धवार्षिक समीक्षाले सरकारको खर्च व्यवस्थापन, राजस्व सुधार तथा ऋण व्यवस्थापनको आगामी रणनीति कस्तो हुन्छ भन्ने स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।
Advertisment