गोदावरीका इन्जिनियर बिष्टविरुद्ध अख्तियारको मुद्दा, करिब दुई करोड अवैध सम्पत्ति आर्जन गरेको ठहर

गोदावरीका इन्जिनियर बिष्टविरुद्ध अख्तियारको मुद्दा, करिब दुई करोड अवैध सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका करार इन्जिनियर सुवास बिष्टविरुद्ध करिब दुई करोड रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार बिष्टले २०७६ साल फागुन १ गते करार इन्जिनियर पदमा नियुक्त भएदेखि २०८१ साउन १४ गतेसम्मको अवधिमा वैधानिक आयभन्दा अत्यधिक खर्च तथा लगानी गरेको पाइएको हो। 

अनुसन्धानका क्रममा बिष्ट र उनको एकाघर परिवारले उक्त अवधिमा तलब, भत्ता, श्रीमतीको तलब बचत, ऋण सापटी, शेयर बिक्री तथा बैंक मौज्दातसमेत गरी कुल एक करोड २७ लाख ७४ हजार ६७३ रुपैयाँ वैधानिक आय आर्जन गरेको देखिएको छ।

तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर लगानी, अध्ययन खर्च, ऋणको साँवा–ब्याज, बीमा प्रिमियम तथा बैंक खातामा रहेको मौज्दातसमेत गरी कुल तीन करोड २४ लाख ८४ हजार ८३० रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ।

यसरी आय र व्ययको तुलनामा एक करोड ९७ लाख १० हजार १५७ रुपैयाँ ६३ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको, प्रस्तुत सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको तथा वैधानिक आयभन्दा उच्च जीवनस्तर यापन गरेको प्रमाणित भएको आयोगको निष्कर्ष छ।

अनुसन्धानमा गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति बिष्टका बुबा सुदर्शन बिष्टको नाममा राखिएको देखिएपछि आयोगले सुवास बिष्ट र उनका बुबा सुदर्शन बिष्ट दुवैलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको हो।

आयोगले सुवास बिष्टलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, बिगो बराबर जरिवाना तथा गैरकानुनी सम्पत्ति जफत गर्न मागदाबी लिएको छ। साथै, झुट्टा तथा अपूर्ण सम्पत्ति विवरण पेश गरेको अभियोगमा थप सजायको माग गरिएको छ। बुबा सुदर्शन बिष्टलाई भने गैरकानुनी सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको आयोगले स्पष्ट गरेको छ।

थप समाचार