Below Menu
Below Menu

१.३७ अर्ब लगानीमा नगरकोटको ‘निगाँलो होटल’ सञ्चालनको अन्तिम चरणमा, आईपीओ जारी गर्ने तयारी

१.३७ अर्ब लगानीमा नगरकोटको ‘निगाँलो होटल’ सञ्चालनको अन्तिम चरणमा, आईपीओ जारी गर्ने तयारी

काठमाडौं । नगरकोटमा निर्माणाधीन चारतारे निगाँलो होटल लिमिटेड सञ्चालनको अन्तिम चरणमा पुगेको छ। कम्पनीका अनुसार हालसम्म होटलको करिब ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। होटलले आगामी मार्च महिनादेखि आंशिक सेवा सुरु गर्ने र जुलाईदेखि पूर्ण व्यावसायिक सञ्चालनमा जाने लक्ष्य लिएको छ।

एक अर्ब ३६ करोड ८० लाख रुपैयाँ अनुमानित लागत रहेको यस परियोजना मुख्यतः ऋणमार्फत वित्तपोषण गरिएको छ। होटलले बैंकिङ कर्जा सुविधाका लागि ९० करोड १० लाख रुपैयाँ बराबरको क्रेडिट रेटिङ गराएको छ, जसमा ८८ करोड ५० लाख रुपैयाँ दीर्घकालीन तथा १ करोड ६० लाख रुपैयाँ अल्पकालीन कर्जा समावेश छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले होटललाई दीर्घकालीन कर्जाका लागि ‘बीबी माइनस’ र अल्पकालीन कर्जाका लागि ‘एफोर’ रेटिङ प्रदान गरेको छ। रेटिङ प्रतिवेदनमा परियोजनाको ऋण–इक्विटी अनुपात ६५ः३५ रहेको उल्लेख गरिएको छ भने आर्थिक वर्ष २०२६ को अन्त्यसम्म गियरिङ अनुपात १.५६ गुणा पुग्ने अनुमान गरिएको छ। उच्च ऋणभारका कारण प्रारम्भिक वर्षहरूमा वित्तीय दबाब रहन सक्ने संकेत पनि प्रतिवेदनमा गरिएको छ।

६८ प्रिमियम कोठासहित विश्वस्तरीय सुविधा

करिब ८० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यस होटलमा ६८ वटा प्रिमियम कोठा ९सुइटसहित० रहनेछन्। होटल परिसरमा तीन वटा बैंक्वेट हल, तीन रेस्टुरेन्ट, बार, स्विमिङ पुल, स्पा, जिम, ध्यान कक्ष, कफी शप, म्युजिक क्लब लगायतका विश्वस्तरीय सुविधा रहनेछन्। साथै, दीर्घकालीन रणनीतिअन्तर्गत उक्त क्षेत्रकै पहिलो क्यासिनो सञ्चालन गर्ने योजना समेत समावेश गरिएको छ।

परम्परागत तथा सांस्कृतिक शैली झल्कने हेरिटेज वास्तुकलामा निर्माण गरिएको होटलबाट हिमाल, काठमाडौं, भक्तपुर र ललितपुर उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने विशेष भ्यू टावर पनि रहनेछ।

होटल नगरकोट भ्यु टावरबाट करिब ४ किलोमिटर, चाँगुनारायण मन्दिरबाट १५ किलोमिटर तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २७ किलोमिटर दूरीमा अवस्थित छ। काठमाडौँसँगको सहज पहुँच र प्रमुख पर्यटकीय गन्तव्यको नजिकको अवस्थिति होटलको दीर्घकालीन व्यावसायिक सम्भावनालाई सबल बनाउने पक्षका रूपमा लिइएको छ।

निगाँलो होटल छ सदस्यीय सञ्चालक समितिद्वारा सञ्चालन भइरहेको छ, जसको अध्यक्षता टीका राज बरालले गरिरहेका छन्। सञ्चालक समितिमा लगानी, बैंकिङ, पर्यटन, शिक्षा, निर्माण तथा व्यापार क्षेत्रमा अनुभवी व्यक्तिहरूको सहभागिता रहेको छ।

कम्पनीका सञ्चालक तथा महाप्रबन्धक अशोक कुमार थापासँग आतिथ्य तथा पर्यटन क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव रहेको छ। हाल कम्पनीका प्रमुख शेयरधनी सुधीर खनाल हुन्, जसको करिब ३० प्रतिशत इक्विटी स्वामित्व रहेको छ।

साढे १८ लाख कित्ता आईपीओ जारी गर्दै

निगाँलो होटल लिमिटेडले साधारण शेयर निष्काशनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको जनाएको छ।

आईपीओपछिको चरणमा कम्पनीले पोखरा, काठमाडौं र चितवनजस्ता प्रमुख शहरहरूमा होटल सेवा विस्तार गर्ने दीर्घकालीन योजना समेत अघि सारेको छ। साथै, भारतीय तथा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी रणनीतिक रूपमा होटल सञ्चालन गर्ने विषयमा अध्ययन भइरहेको कम्पनीले जनाएको छ।

Advertisment

थप समाचार