Below Menu
Below Menu

रुपन्देहीमा दुई अर्ब लगानीमा पाँच–तारे होटल बन्दै: १०९ कोठा र क्यासिनोसहितको सुविधा

रुपन्देहीमा दुई अर्ब लगानीमा पाँच–तारे होटल बन्दै: १०९ कोठा र क्यासिनोसहितको सुविधा

काठमाडौं : एमरल्ड प्यालेस प्राइभेट लिमिटेडले रुपन्देहीको सिद्धार्थनगरमा पाँच–तारे होटल निर्माण गर्ने योजना अघि बढाएको छ। कम्पनीले यस परियोजनामा करिब दुई अर्ब रुपैयाँको लगानी गर्ने जनाएको छ।

नयाँ होटलमा १०९ वटा लग्जरी कोठा, भव्य बैंक्वेट हल, स्विमिङ पुल, क्यासिनो, जिम, स्पा सुविधा, दुई सम्मेलन कक्ष र दुई व्यवसायिक केन्द्र निर्माण गरिनेछ। परियोजना ९६ हजार ६८६ दशमलव ९ वर्गफिट क्षेत्रफलमा फैलिनेछ र आधुनिक सुविधा, उत्कृष्ट सेवा तथा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य प्रदान गर्ने उद्देश्य राखिएको छ।

हाल परियोजनामा ८०ः२० ऋण–इक्विटी अनुपातमा लगानी प्रस्ताव गरिएको छ। प्रवद्र्धकहरूले अहिलेसम्म ५ करोड रुपैयाँ इक्विटी लगानी गरिसकेका छन्। सन् २०२५ जुलाई मध्यसम्म वित्तीय प्रगति कुल लागतको ११ प्रतिशत मात्र पुगेको छ। परियोजनालाई सन् २०२९ जुलाईसम्म व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

बैंकबाट १९ करोड रुपैयाँ ऋण स्वीकृत भइसकेको छ भने निर्माणमा २२ करोड ३० लाख रुपैयाँ खर्च भइसकेको छ। होटलका प्रवद्र्धक योगेश घिमिरे रहेका छन् । यस क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका उनी विभिन्न व्यवसायमा संलग्न छन्।

होटलको स्थान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ८०० मिटर, लुम्बिनीबाट २२ किलोमिटर, र सुनौली नाकाबाट ६ किलोमिटरको दूरीमा रहेको छ। 

सरकारले सन् २०२३–२०३३ लाई “पर्यटन दशक” घोषणा गरेको छ भने सन् २०२६ को बजेटमा होटल तथा रिसोर्टका लागि कर छुट र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागि रु १३.२८ अर्ब बजेट विनियोजन गरिएको छ। कोभिड–१९ पछि पर्यटन क्षेत्र पुनरुत्थानको मार्गमा छ। 

केयर रेटिङ नेपालले कम्पनीलाई बीबी माइनस रेटिङ प्रदान गरेको छ। कम्पनीले दीर्घकालिन बैंकिङ कर्जा सुविधाका लागि एक अर्ब रुपैयाँ बराबरको रेटिङ गराएको छ । 

Advertisment

थप समाचार