काठमाडौं : चालु आर्थिक वर्ष सात महिनामा ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार सात महिनामा ५२४ परियोजना स्वीकृत भएका छन्।
सबैभन्दा धेरै परियोजना सूचना प्रविधि क्षेत्रमा रहेका छन्। यस अवधिमा सूचना तथा सञ्चार प्रविधिका २८८, पर्यटनका १५०, उत्पादनमूलक ३५, सेवामूलक ३४, कृषि तथा वनसम्बन्धी १४, खनिजजन्य २ र ऊर्जासम्बन्धी १ परियोजना स्वीकृत भएका छन्।
लगानी रकमका आधारमा भने कृषि क्षेत्रमा सबैभन्दा धेरै २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ प्रतिबद्धता आएको छ। पर्यटन क्षेत्रमा १० अर्ब ८६ करोड २० लाख रुपैयाँ, उत्पादनमूलक क्षेत्रमा २ अर्ब ४० करोड ६६ लाख ४४ हजार रुपैयाँ र सेवामूलक क्षेत्रमा ३ अर्ब ५४ करोड ८० लाख रुपैयाँ प्रतिबद्धता आएको छ।
त्यस्तै सूचना प्रविधि क्षेत्रमा १ अर्ब २५ करोड ९४ लाख ३६ हजार रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ। खनिजजन्य परियोजनामा ११ करोड ५० लाख र ऊर्जामूलक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
विभागका अनुसार माघसम्म अटोमेटिक रुटमार्फत ३ अर्ब २५ करोड र अप्रुभल रुटमार्फत ३७ अर्ब ३ करोड रुपैयाँ बराबर लगानी स्वीकृत भएको छ।
यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब साढे १३ अर्ब रुपैयाँले बढी हो। गत आवको माघसम्म २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबर लगानी स्वीकृत भएको थियो।
माघ महिनामा मात्रै ४९ उद्योग दर्ता भएका छन्। ती उद्योगबाट ६८७ जनालाई रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। महिनाभरि स्वीकृत उद्योगमध्ये ४८ साना र १ ठूलो उद्योग छन्।
विभागका अनुसार माघसम्म कुल ५२५ उद्योगमा वैदेशिक लगानी स्वीकृत भइसकेको छ। त्यस्तै, लाभांश, रोयल्टी र सेवा शुल्कबापत अर्बौं रुपैयाँ बराबरको रकम बाहिरिएको पनि प्रतिवेदनमा उल्लेख छ। माघसम्म लाभांशबापत मात्रै १६ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ।
Advertisment