काठमाडौं : सरकारले चालु आर्थिक वर्षको माघमसान्तसम्म घरजग्गा कारोबारबाट करिब २७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यस अवधिमा २६ अर्ब ९६ करोड ४८ लाख ७८ हजार रुपैयाँ राजस्व उठेको हो।
यो रकम घरजग्गा खरिद–बिक्रीमा लाग्ने पुँजीगत लाभकर, दर्ता शुल्क, सेवा करलगायत शीर्षकबाट संकलन गरिएको हो।
गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलन ९.१२ प्रतिशत अर्थात दुई अर्ब २५ करोड ४७ लाख १८ हजार रुपैयाँले बढी हो । गत वर्ष सरकारले घरजग्गाको कारोबारबाट २४ अर्ब ७१ करोड एक लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
माघ मसान्तसम्म देशभर ८ लाख ५६ हजार २९० संख्यामा घरजग्गाको कारोबार भएको छ । गत वर्ष ८ लाख ४५ हजार ९४१ वटा घरजग्गाको कारोबार भएको थियो ।
माघमा मात्रै ५ अर्बभन्दा बढी राजस्व
विभागका अनुसार गत माघ महिनामा मात्रै घरजग्ग्गाको कारोबारबाट पाँच अर्ब ९९ लाख २४ हजार बराबरको राजस्व सङ्कलन भएको छ । गत पुसको तुलनामा भने माघमा राजस्व सङ्कलन घटेको छ । पुसमा यस वर्षकै सर्वाधिक ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
यसअघि चालु आवको साउनमा ३ अर्ब २८ करोड ९१ लाख, भदौमा ३ अर्ब १४ करोड सात लाख, असोजमा दुई अर्ब ७५ करोड ८५ लाख, कात्तिकमा २ अर्ब ७४ करोड ५१ लाख, मंसिरमा ४ अर्ब ६४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
विभागका अनुसार माघमा सेवा करबाट ३१ करोड ५८ लाख ७२ हजार, रजिष्ट्रेशन दस्तुर दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार र पुँजीगत लाभकरबाट एक अर्ब ९६ करोड ५५ लाख १२ हजार सङ्कलन भएको छ।
उक्त महिनामा ५० हजार ८३७ घरजग्गाको लिखित पास भएको छ भने ५ हजार ५५८ संख्यामा नामसारी भएको छ । त्यस्तै ३५ हजार १३१ संख्यामा घरजग्गाको रोकवा हुँदा ३२ हजार ५३३ संख्यामा फुकुवा भएको छ ।
कित्ताकाट खुलेपछि बढ्यो कारोबार
चालु आर्थिक वर्षको सुरुमा घरजग्गा कारोबार सुस्त थियो। स्थानीय तहमा जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको थियो, जसका कारण साउनदेखि कात्तिकसम्म कारोबार प्रभावित भएको थियो।
सरकारले २५ कात्तिकमा भू–उपयोग नियमावली संशोधन गर्दै जग्गा वर्गीकरणको समयसीमा आगामी असारसम्म थपेपछि कित्ताकाट खुलेको थियो। त्यसपछि मंसिरदेखि कारोबारमा सुधार देखिएको विभागले जनाएको छ।
साउनदेखि कात्तिकसम्म क्रमशः करिब ३१ हजार, २७ हजार, २३ हजार र २८ हजार कारोबार भएका थिए। मंसिर, पुस र माघमा भने प्रत्येक महिनामा ५० हजारभन्दा बढी कारोबार भएका छन्।