Below Menu
Below Menu

सानिमा ग्रुपको अकामा होटलले गर्यो साढे २२ करोडको व्यापार, आधाभन्दा बढीले घट्यो ऋणभार 

सानिमा ग्रुपको अकामा होटलले गर्यो साढे २२ करोडको व्यापार, आधाभन्दा बढीले घट्यो ऋणभार 

काठमाडौं : काठमाडौंको धुम्बाराहीमा सञ्चालित पाँचतारे अकामा होटल लिमिटेडले सन् २०२५ मा २२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा करिब २ प्रतिशतले बढी हो। 

Sponsored Advertisement

कम्पनीले सन् २०२४ मा २२ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा १७ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो। पछिल्ला वर्षहरूमा कम्पनीको व्यापार निरन्तर बढ्दो क्रममा देखिएको छ।

यद्यपि आम्दानी बढेपनि सञ्चालन नाफा मार्जिनमा भने उतारचढाव देखिएको छ। सन् २०२३ मा २४.३१ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२४ मा २६.०१ प्रतिशत पुगेको थियो। तर सन् २०२५ मा यो घटेर २२.५५ प्रतिशतमा सीमित भएको छ।

क्रेडिट रेटिङ उकासियो

केयर रेटिङ नेपालले कम्पनीको इस्युयर रेटिङ ‘बीबी’ कायम गरेको छ, जुन यसअघि ‘बीबी माइनस’ रहेको थियो। साथै, दीर्घकालीन बैंक सुविधातर्फको रेटिङ पनि स्तरोन्नति गरिएको छ। कम्पनीले दीर्घकालीन बैंकिङ कर्जा सुविधाका लागि १ अर्ब १० करोड ५२ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ।

चालु आर्थिक वर्षमा प्रवर्द्धकबाट थप इक्विटी भित्रिएपछि कम्पनीको पूँजी संरचना उल्लेखनीय रूपमा सुदृढ भएको रिपोर्टमा उल्लेख छ। सन् २०२६ मा करिब ६० करोड ९० लाख रुपैयाँ (प्रिमियमसहित) इक्विटी थपिएको छ। यससँगै ठूलो परिमाणमा सावाँ ऋण पूर्वभुक्तानी गर्दै कुल ऋण भार १ अर्ब १२ करोड ३० लाख रुपैयाँबाट घटेर करिब ५१ करोड ४० लाख रुपैयाँमा झरेको छ।

इक्विटी वृद्धि र ऋण कटौतीसँगै कम्पनीको नेटवर्थ १ अर्ब २ करोड ६० लाख रुपैयाँबाट बढेर करिब १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ पुगेको छ। सन् २०२९ सम्म सावाँ भुक्तानीको ठूलो दायित्व नरहेकाले निकट भविष्यमा नगद प्रवाहमा दबाब कम हुने अपेक्षा गरिएको छ।

अक्कुपेन्सी सुधार, तर आन्दोलनको असर

सन् २०२४–२०२५ अवधिमा पर्यटक आगमन बढेसँगै होटलको सञ्चालन आम्दानी स्थिर रहेको छ। सन् २०२५ मा कुल सञ्चालन आम्दानी २ प्रतिशतले बढेको छ। सन् २०२३ मा ३० प्रतिशत रहेको अक्कुपेन्सी दर सन् २०२५ मा बढेर ४५ प्रतिशत पुगेको थियो।

तर सन् २०२५ सेप्टेम्बरमा भएको जेनजी आन्दोलनका कारण सेप्टेम्बर–नोभेम्बर पिक सिजन प्रभावित हुँदा सन् २०२६ मा आम्दानी घटेर ८ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा अक्कुपेन्सी दर ३२ प्रतिशतमा झरेको थियो। यद्यपि ब्याज खर्च घटेकाले आगामी त्रैमासिकहरूमा नाफा सुधार हुने अपेक्षा गरिएको छ।

यो होटल सानिमा ग्रुप अन्तर्गत सञ्चालनमा छ। सञ्चालक समितिका अध्यक्ष विनायक कुमार श्रेष्ठ नेतृत्वमा अनुभवी व्यवस्थापन टोलीले होटल सञ्चालन गर्दै आएको छ। धुम्बाराही, काठमाडौंमा अवस्थित होटलमा १०८ कोठा छन्।    

सरकारले पर्यटन दशक घोषणा गर्दै होटल तथा रिसोर्ट क्षेत्रलाई कर छुटलगायत विभिन्न प्रोत्साहन दिएको छ। सन् २०२५ को अन्त्यसम्म नेपालमा पर्यटक आगमन करिब ११.५८ लाख पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि हो।  

थप समाचार