Below Menu
Below Menu

अन्नपूर्ण केबलकार पाँचौँ वर्षमाः आईपीओको तयारी, २५० रुपैयाँमै आरती दर्शनको प्याकेज

अन्नपूर्ण केबलकार पाँचौँ वर्षमाः आईपीओको तयारी, २५० रुपैयाँमै आरती दर्शनको प्याकेज

पोखरा : अन्नपूर्ण केबलकार लिमिटेड चौँथो बर्ष पूरा गरी पाचौं बर्षमा प्रवेश गरेको छ ।  चौंथो वार्षिकोत्सवको अवसरमा कम्पनीले विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ।

यस अवसरमा कम्पनीले स्त्री रोग, दन्त सेवा, क्यान्सर सचेतना तथा रक्तदान कार्यक्रम निःशुल्क रूपमा आयोजना गरी स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ।

कम्पनीका अनुसार आयोजित स्वास्थ्य शिविरबाट ४८ जनाले प्रत्यक्ष लाभ लिएका छन् भने २७ जनाले रक्तदान गरेका छन्। साथै, स्थापना कालदेखि निरन्तर रूपमा कार्यरत कर्मचारीहरूलाई सम्मानसमेत गरिएको छ। वार्षिकोत्सवलाई सामाजिक सेवा केन्द्रित बनाउँदै केबलकारले समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रयास गरेको जनाएको छ।

पोखराको प्रमुख पर्यटकीय गन्तव्य सराङकोटस्थित केबलकार स्थापना कालदेखि नै नियमित सञ्चालनमा रहेको छ। बिहान सूर्योदयदेखि साँझसम्म सञ्चालन हुने केबलकार सेवाले सराङकोटबाट सूर्योदय तथा हिमालको दृश्य अवलोकन गर्न जाने पर्यटकको समय बचत गर्दै आएको छ। केवल ९ मिनेटको यात्रामा फेवाताल, लेकसाइड क्षेत्र, ग्रामीण बस्ती तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ।

यसैबीच, प्रत्येक सोमबार साँझ हुने आरती दर्शनका लागि जाने दर्शकलाई विशेष सहुलियत स्वरूप प्रति टिकट २५० रुपैयाँमा साँझ ५ बजेदेखि ८ बजेसम्म सेवा उपलब्ध गराइँदै आएको छ। पर्यटकको सुविधालाई ध्यानमा राख्दै लेकसाइड क्षेत्रदेखि केबलकार स्टेशनसम्म निःशुल्क यातायातको व्यवस्था गरिएको छ भने चितवनदेखि आउने यात्रुका लागि समेत स्टेशनसम्म आउने–जाने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएका सामाजिक तथा सेवा मूलक कार्यक्रमले केबलकारको सामाजिक प्रतिबद्धता उजागर गरेकोमा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

आईपीओ निष्कासनको अन्तिम तयारीमा रहेको अन्नपूर्ण केवलकारले सेवाग्राहीको सुविधालाई ध्यानमा राखी अनलाईन टिकट बुकिङदेखि केवलकार सम्बन्धि सम्पूर्ण जानकारीसहितको एप सार्वजनिक गर्ने तयारी गरेको कम्पनीका संचालक चन्द बहादुर कार्कीले जानकारी दिए।