काठमाडौं : नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न अनुमति दिएको छ। बोर्डले फागुन ४ गते बैंकलाई शेयर जारी गर्न स्वीकृति दिएको हो ।
बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा (परिपत्र विधिबाट बिक्री हुने) कुल तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर निष्कासन गर्न बैंकलाई अनुमति दिएको हो । उक्त शेयरको लाभांश दर ८.२५ प्रतिशत रहेको छ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटड रहेको छ । हालसम्म बोर्डले चार वाणिज्य बैंकसहित पाँच बैंकलाई अग्राधिकार शेयर जारी गर्न अनुमति दिएको छ ।
जसमा वाणिज्य बैंकतर्फ नबिल बैंक, एनएमबि, सिद्धार्थ बैंक र माछापुच्छ्रे रहेका छन् भने विकास बैंकतर्फ कामना सेवा विकास बैंकले अग्राधिकार शेयर जारी गर्ने अनुमति पाएका छन् ।