काठमाडौं : पछिल्लो समय नेपालको अर्थतन्त्रमा बीमा उद्योगको योगदान उल्लेख्य रूपमा बढ्दै गएको छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक तथ्यांकअनुसार बीमा उद्योगबाट विभिन्न क्षेत्रमा कुल ९ खर्ब ३० अर्ब ८६ करोड ७५ लाख रुपैयाँ बराबरको लगानी भएको छ। बीमामा पहुँच विस्तारसँगै उद्योगको आकार र लगानी क्षमता दुवै बढेको देखिएको हो ।
कुल लगानीमध्ये सबैभन्दा ठूलो हिस्सा जीवन बीमा कम्पनीहरूको रहेको छ। जीवन बीमकहरूले मात्रै ८ खर्ब २९ अर्ब ५० करोड ६२ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन्। निर्जीवन बीमा कम्पनीहरूको लगानी ६४ अर्ब २८ करोड २३ लाख रुपैयाँ पुगेको छ भने नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनीहरूको लगानी ३७ अर्ब ७ करोड ९० लाख रुपैयाँ रहेको छ।
बीमा कम्पनीहरूको लगानी संरचना हेर्दा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा अत्यधिक रहेको छ। जीवन बीमकहरूले मात्रै वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा ५ खर्ब ४७ अर्ब ९९ करोड ६१ लाख रुपैयाँ राखेका छन्। निर्जीवन बीमकहरूको कुल लगानीमध्ये करिब ७२ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै केन्द्रित छ।
सरकारी बचतपत्र तथा ऋणपत्र, सूचीकृत कम्पनीका साधारण शेयर, अग्राधिकार शेयर, बन्ड, डिबेञ्चर, नागरिक लगानी कोष, म्युचुअल फण्ड तथा इन्भेष्टमेन्ट कम्पनीका शेयरहरूमा पनि लगानी विस्तार हुँदै गएको छ।
यद्यपि, राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र-कृषि उत्पादन, शीत भण्डार, पर्यटन, जलविद्युत, सौर्य तथा नवीकरणीय ऊर्जा, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा भने लगानी अपेक्षाकृत न्यून देखिएको छ। जीवन बीमकले यी क्षेत्रमा ११ अर्ब ७६ करोड १० लाख रुपैयाँ र निर्जीवन बीमकले एक अर्ब १० करोड ७२ लाख रुपैयाँ मात्रै लगानी गरेका छन्।
यसैबीच, पुनर्बीमा क्षेत्रमा पनि लगानी विस्तार देखिएको छ। नेपाल पुनर्बीमा कम्पनी र हिमालय रिइन्स्योरेन्सले बैंक निक्षेप, सरकारी ऋणपत्र, सूचीकृत कम्पनीका शेयर तथा विभिन्न कोषहरूमा लगानी गर्दै आएका छन्। तर, पूर्वाधार र उत्पादनमुखी क्षेत्रतर्फ उनीहरूको लगानी अझै न्यून रहेको तथ्यांकले देखाएको छ ।
जीवन बीमा कम्पनीको लगानी
नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ३६ अर्ब ९६ करोड ३७ लाख, वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा ५ खर्ब ४७ अर्ब ९९ करोड ६१ लाख, पूर्वाधार बैंकको मुद्दति निक्षेपमा सात अर्ब १७ करोड र विकास बैंकहरुको मुद्दति निक्षेपमा ४६ अर्ब ८ करोड ९८ लाख रुपैयाँ लगानी गरेका छन् ।
त्यस्तै कम्पनीहरुले फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा छ अर्ब ४४ करोड ७० लाख, घरजग्गामा ७५ करोड ८१ लाख, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ४२ अर्ब ४० करोड ३१ लाख र बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ७४ अर्ब ३५ करोड १३ लाख रुपैयाँ लगानी रहेको छ ।
सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा १२ अर्ब २३ करोड २९ लाख, कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा ११ अर्ब ७६ करोड १० लाख नागरिक लगानी कोष र म्युचुअल फन्डमा ८ अर्ब ६४ करोड ३० लाख रुपैयाँ लगानी रहेको छ ।
त्यस्तै कम्पनीहरुको लगानी इन्भेष्टमेन्ट कम्पनीको शेयरमा तीन अर्ब १२ करोड १० लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा १९ अर्ब ३९ करोड ७३ लाख रुपैयाँ सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको शेयरमा २ अर्ब २३ करोड ६ लाख रुपैयाँ र अन्य लगानी ९ अर्ब ९४ करोड आठ लाख रुपैयाँ रहेको छ ।
निर्जीवन बीमा कम्पनीको लगानी ६४ अर्बमाथि
निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको छ महिनामा विभिन्न क्षेत्रमा ६४ अर्ब रुपैयाँ बढी लगानी गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ बीमा कम्पनीले पुस मसान्तसस्म्म विभिन्न क्षेत्रमा ६४ अर्ब २८ करोड २३ लाख रुपैयाँ लगानी गरेका हुुन् ।
जसमा बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा मात्रै निर्जीवन बीमकहरूले ४६ अर्ब ५१ करोड ३ लाख रुपैयाँ लगानी गरेका छन् । निर्जीवन बीमकको कुल लगानी ७२.३५ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा रहेको तथ्यांकले देखाएको छ ।
पुस मसान्तसम्म निर्जीवन बीमकहरूले क वर्गका बैंकहरूमा ४१ अर्ब ३१ करोड ४ लाख रुपैयाँ, ख वर्गका बैंकमा ४ अर्ब १९ करोड ६३ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थामा १ अर्ब ३५ लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गरेका छन् ।
यसैगरी बीमकहरूले सरकारी बचतपत्र तथा ऋणपत्रमा ६३ करोड ३५ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको शेयरमा ५ अर्ब ३६ करोड ८ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरूको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ३ अर्ब १५ करोड २ लाख रुपैयाँ / सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ लगानी गरेका छन् ।
प्राधिकरणका अनुसार कम्पनीहरुले नागरिक लगानी कोष र म्युचुअल फन्डमा एक अर्ब ५१ करोड ९१ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा १७ करोड २१ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा २ करोड ७४ लाख रुपैयाँ लगानी गरेका छन् ।
त्यस्तै निर्जीवन बीमकहरूले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा परियोजना केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा एक अर्ब १० करोड ७२ लाख रुपैयाँ र अन्य क्षेत्रमा १ अर्ब १४ करोड ५२ लाख रुपैयाँ लगानी गरेका छन् ।
पुनर्बीमा कम्पनीको लगानी ३७ अर्बमाथि
हाल नेपालमा संचालित दुई पुनर्बीमा कम्पनीहरुले ३७ अर्ब सात करोड ९० लाख रुपैयाँ लगानी गरेका छन् । बीमा प्राधिकरणका अनुसार यस अवधिमा नेपाल पुनर्बीमा कम्पनीले १८ अर्ब २८ करोड २३ लाख रुपैयाँ र हिमालय रिइन्स्योरेन्सको १८ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ लगानी रहेको छ ।
नेपालका पुनर्बीमा बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, नेपाल सरकारको ऋणपत्र पत्र, घरजग्गा, सूचिकृत कम्पनीहरुको साधारण सेयर, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक शेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गर्दै आएका छन् ।
वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा २४ अर्ब ७२ करोड ७१ लाख, पूर्वाधार बैंकमा २६ करोड, विकास बैंकहरुमा एक अर्ब १४ करोड र फाइनान्स कम्पनीहरुमा १० करोड लगानी रुपैयाँ लगानी गरेका छन् ।
त्यस्तै, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा चार अर्ब ७१ करोड ६३ लाख, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा एक अर्ब अर्ब ७४ करोड ७२ लाख लगानी गरेका छन् ।
कम्पनीहरुले नागरिक लगानी कोष र म्युचुअल फन्डमा एक अर्ब ३५ करोड ४७ लाख, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा एक अर्ब ५ करोड, अन्य संस्थापक शेयरमा ८२ करोड १५ लाख लगानी गरेका छन् ।
यसैगरी कम्पनीहरुले सूचीकृत नभएको अन्य पब्लिक ५० करोड ७२ लाख र अन्य लगानी ६५ करोड ४७ लाख रुपैयाँ रहेको छ ।
तर, कम्पनीहरुले घरजग्गा, सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्र, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा लगायत नवीकरणीय उर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने लगानी गरेका छैनन् ।
नयाँ निर्देशिकाले खोल्या] लगानी विविधीकरणको बाटो
लगानीलाई सुरक्षित मात्र नभई विविधीकरणमार्फत उत्पादनमुखी क्षेत्रमा प्रवाह गराउने उद्देश्यले प्राधिकरणले ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ। उक्त निर्देशिकाले बीमा कम्पनीहरूलाई कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्य तथा लगानी कम्पनीहरूमा लगानी गर्ने मार्ग खुला गरेको छ।
साथै, सहायक कम्पनी स्थापना गरी अधिकतम पाँच प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरिएको छ, तर त्यसका लागि पूँजी, सोल्भेन्सी मार्जिन, नाफा र सुशासनसम्बन्धी कडा मापदण्ड पूरा गर्नुपर्नेछ।
नयाँ निर्देशिकाअनुसार जीवन बीमकहरूले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकद्वारा जारी बचतपत्र तथा ऋणपत्रमा कुल लगानीको ३५ प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन्, जुन यसअघि २५ प्रतिशत थियो। सूचीकृत कम्पनीका साधारण शेयरमा लगानी सीमा १५ प्रतिशत पुर्याइएको छ। निर्जीवन बीमकहरूको हकमा सरकारी ऋणपत्रमा ३० प्रतिशत र साधारण शेयरमा १० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था छ।
प्राधिकरणले लगानी व्यवस्थापनलाई थप व्यवस्थित बनाउन प्रत्येक बीमकमा ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्नुपर्ने, प्रत्येक त्रैमासमा लगानी विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने, घरजग्गा लगानीको तीन वर्षमा एकपटक मूल्यांकन गर्नुपर्ने तथा बैंक निक्षेपलाई एअरमार्क गर्नुपर्ने व्यवस्था गरेको छ।
बीमामा पहुँच विस्तार र संचित कोषको आकार बढ्दै जाँदा बीमा उद्योग नेपालको वित्तीय प्रणालीमा महत्वपूर्ण संस्थागत लगानीकर्ताको रूपमा स्थापित हुँदै गएको छ। यद्यपि, सुरक्षित निक्षेपमा केन्द्रित लगानी प्रवृत्तिलाई उत्पादनमुखी तथा पूर्वाधार क्षेत्रमा मोड्न सकिएमा राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान अझ व्यापक हुने अपेक्षा गरिएको छ।