काठमाडौं : नेपालको निजी हेलिकप्टर सेवा प्रदायक एयर डाइनेस्टी हेलि सर्भिस (एडीएच) को व्यापार सन् २०२५ मा घटेपनि चालु आर्थिक वर्षको पाँच महिनामा भने उल्लेख्य रुपमा बढेको छ । साथै, कम्पनीको क्रेडिट रेटिङ पनि यथावत रहेको छ ।
इन्फोरिमेक्स क्रेडिट रेटिङका अनुसार सन् २०२५ मा कम्पनीको आम्दानी १३.५४ प्रतिशतले घटेर ६१ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ७१ करोड २६ लाख रुपैयाँ थियो।
पछिल्ला वर्षहरूमा कम्पनीको आम्दानीमा उतारचढाव देखिएको छ । कम्पनीले सन् २०२३ मा ७४ करोड, २०२२ मा ३२ करोड ४० लाख र २०२१ मा ६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
सन् २०२५ मा हेलिकप्टर दुर्घटना तथा प्राविधिक समस्याले आम्दानीमा करिब १४ प्रतिशत गिरावट आएको रिपोर्टमा उल्लेख गरिएको छ। तर, चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भने करिब २४ प्रतिशतले व्यापार बढेको छ ।
कम्पनीको सञ्चालन नाफा मार्जिन पनि केही घटेको छ। सन् २०२४ मा ४८.४१ प्रतिशत रहेको मार्जिन सन् २०२५ मा ४३.७८ प्रतिशतमा झरेको छ। यद्यपि, एबिटा मार्जिन स्थिर रहँदा कम्पनीको ब्याज तिर्ने क्षमता र ऋण सेवा क्षमता सन्तोषजनक रहेको छ।
सन् २०२३ र २०२४ मा १७ गुणा रहेको ब्याज भुक्तानी क्षमता सन् २०२५ मा घटेर ७.४७ गुणा पुगेको छ। साथै, दुई नयाँ हेलिकप्टर खरिद गर्दा पनि कुल गियरिङ अनुपात ०.८८ गुणामै सीमित रहेको उल्लेख छ ।
कम्पनीको आम्दानीको ठूलो हिस्सा हिमाली क्षेत्रबाट आउने गरेको छ। कुल आम्दानीमध्ये ६८ प्रतिशत सगरमाथा क्षेत्रबाट र २३ प्रतिशत अन्नपूर्ण क्षेत्रबाट प्राप्त हुन्छ। यी क्षेत्र प्राकृतिक प्रकोप, विशेषगरी हिमपहिरो जस्ता जोखिमबाट प्रभावित हुने भएकाले सञ्चालनमा चुनौती रहने जनाइएको छ ।
साथै, नेपालको पर्यटन क्षेत्रको मौसमी प्रकृतिका कारण कम्पनीको आम्दानी पनि सेप्टेम्बर–नोभेम्बर र मार्च–मे महिनामा बढी केन्द्रित हुने गरेको छ।
रेटिङ एजेन्सीले कम्पनीको बैंकिङ सुविधासम्बन्धी क्रेडिट रेटिङ यथावत राखेको छ। दीर्घकालीन अमेरिकी डलर ऋण सुविधामा बीबीबी र अल्पकालीन नेपाली रुपैयाँ सुविधामा ‘एथ्री’ रेटिङ पुनः पुष्टि गरिएको छ। साथै, यसअघि राखिएको ‘नेगेटिभ इम्प्लिकेशन’ सूचीबाट कम्पनीलाई हटाइएको छ।
सन् २००० मा स्थापित एडीएच काठमाडौंको सिनामंगलमा मुख्यालय रहेको निजी हेलिकप्टर सेवा प्रदायक हो। कम्पनीले हेली–साइटसिइङ, मेडिकल इभ्याकुएसन, रेस्क्यु, एरियल सर्वे, हवाई फोटोग्राफी तथा चार्टर उडान सेवा प्रदान गर्दै आएको छ। हाल कम्पनीसँग ५ हेलिकप्टर र ७० भन्दा बढी कर्मचारी कार्यरत छन्।
कम्पनीका प्रमुख शेयरधारक अनिल रावल र पवित्र कुमार कार्की हुन्, जसको संयुक्त स्वामित्व करिब २६.६४ प्रतिशत रहेको छ।