काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले सरकारले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्दा पर्यटन लगायत अन्य विकासका क्षेत्रमा अपेक्षित प्रगति गर्न नसकिएको स्वीकार गरेका छन्।
शुक्रबार नेपाल पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा ललितपुरमा आयोजित नेपाल पर्यटन गोष्ठीमा बोल्दै मन्त्री खनालले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु सरकारका लागि ठूलो चुनौती रहेको बताए।
उनका अनुसार राजनीतिक अस्थिरता, सुरक्षा चिन्ता, र विभिन्न आशंकाका बीच निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु प्राथमिकता बनेको थियो। “निर्वाचन सम्भव छैन भन्ने व्यापक आशंका थियो। यस्तो अवस्थामा सरकारको ध्यान त्यतैतिर केन्द्रित हुँदा चालु आर्थिक वर्षमा पर्यटन लगायत विकासका कतिपय प्रतिबद्धतामा काम अघि बढाउन सकेनौं,” उनले भने।
खनालले बजेटमा पर्यटन क्षेत्रलाई उद्योगसरह सुविधा दिने उल्लेख गरिए पनि त्यसलाई कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्दै अब नीति, कार्यक्रम र आयोजनामार्फत पर्यटन क्षेत्रलाई व्यवहारमै प्राथमिकता दिने प्रतिबद्धता जनाए।
उनले पर्यटन क्षेत्रलाई कागजी प्राथमिकतामा सीमित नराखी व्यवहारिक रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। त्यसैगरी, उनले वर्तमान सरकारको प्रमुख जिम्मेवारीमध्ये भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने रहेको उल्लेख गर्दै यस अवधिमा केही सुधारका पहलहरू सुरु गरिएको पनि बताए।