Below Menu
Below Menu

चैत २ देखि ‘ग्लोबल मनी विक २०२६’ सुरु, राष्ट्र बैंकको नेतृत्वमा देशभर वित्तीय साक्षरता अभियान चल्ने

चैत २ देखि ‘ग्लोबल मनी विक २०२६’ सुरु, राष्ट्र बैंकको नेतृत्वमा देशभर वित्तीय साक्षरता अभियान चल्ने

काठमाडौं : बालबालिका तथा युवामा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष मनाइने विश्वव्यापी अभियान ‘ग्लोबल मनी विक’ को १४औँ संस्करण आगामी चैत २ देखि ८ गतेसम्म (मार्च १६–२२, २०२६) नेपालसहित विश्वभर मनाइने भएको छ।

नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंक ले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै अभियानलाई विविध कार्यक्रममार्फत अघि बढाउने तयारी गरेको जनाएको छ।

यस वर्ष ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित अभियान सञ्चालन गरिँदैछ। ‘सिक, बचाउ, कमाउ’ भन्ने स्थायी नारालाई निरन्तरता दिँदै यसपटक डिजिटल युगमा पैसाको सचेत प्रयोग, वित्तीय निर्णयमा संवादको महत्त्व र जिम्मेवार व्यवहारलाई विशेष प्राथमिकतामा राखिएको छ।

राष्ट्र बैंकका अनुसार अभियानले युवालाई केवल बचतमा सीमित नराखी उनीहरूलाई वित्तीय रूपमा सचेत, आत्मनिर्भर र जिम्मेवार बनाउने लक्ष्य राखेको छ। विशेषगरी बढ्दो डिजिटल कारोबारसँगै साइबर जोखिम र ठगीबाट जोगिन आवश्यक ज्ञान र सीप प्रदान गर्नु, बचत तथा लगानीको संस्कार विकास गर्नु र जिम्मेवार उपभोग प्रवर्द्धन गर्नु यसको मुख्य उद्देश्य हो।

अभियान सफल बनाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा कम्पनी, सहकारी, पुँजीबजारसँग सम्बन्धित निकाय, शैक्षिक संस्था तथा गैरसरकारी क्षेत्रलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ। वित्तीय पहुँच विस्तारसँगै सेवाको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै बैंकले दिगो वित्तीय समावेशिता सामूहिक प्रयासबाट मात्र सम्भव हुने स्पष्ट पारेको छ।

साताव्यापी रूपमा सञ्चालन हुने यस अभियानअन्तर्गत देशभर विद्यालय तथा क्याम्पस केन्द्रित वित्तीय शिक्षा कार्यक्रम, अन्तरक्रियात्मक छलफल, निबन्ध तथा वक्तृत्व प्रतियोगिता, डिजिटल वित्तीय साक्षरता तालिम तथा वित्तीय उपभोक्ता अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिनेछन्।

विश्वव्यापी रूपमा ‘अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट’ (ओइसीडी) को संयोजनमा सन् २०१२ देखि सुरु भएको यो अभियान नेपालमा सन् २०१३ देखि निरन्तर सञ्चालन हुँदै आएको छ। ओइसीडीका अनुसार हालसम्म १७६ भन्दा बढी देशका करिब सात करोड बालबालिका, किशोरकिशोरी तथा युवाहरू यसबाट लाभान्वित भइसकेका छन्।

Advertisment

थप समाचार