काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। प्राधिकरणले मंगलबार सूचना प्रकाशित गर्दै कोषको रकमलाई ६ महिनादेखि १ वर्ष अवधिसम्म मुद्दती खातामा राख्न बैंक तथा वित्तीय संस्थाहरूबाट सिलबन्दी प्रस्ताव आह्वान गरेको हो ।
जारी सूचनाअनुसार इच्छुक वाणिज्य बैंकहरूले आफूले राख्न चाहेको रकम तथा प्रस्तावित ब्याजदर उल्लेख गरी फागुन २६ गतेभित्र प्राधिकरणको आर्थिक प्रशासन शाखामा प्रस्ताव पेश गर्नुपर्नेछ। प्रस्तावको वैधता अवधि कम्तीमा ९० दिनको हुनुपर्नेछ भने बैंकहरूले प्रस्तावित ब्याजदर कम्तीमा १५ दिनसम्म कायम रहने सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।
प्राधिकरणले मूल्यांकनका लागि बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो वित्तीय अवस्था र कार्यक्षमता झल्काउने सूचकहरू अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ। यस्ता सूचकहरूमा पूँजी पर्याप्तता अनुपात, निष्क्रिय कर्जा प्रतिशत, क्रेडिट–डिपोजिट अनुपात, वैधानिक तरलता अनुपात, खुद तरलता अनुपात तथा आर्थिक वर्ष २०८१÷८२ को खुद नाफा समावेश गर्नुपर्नेछ।
त्यसैगरी, २०८२ असार मसान्तसम्मको वित्तीय विवरणका आधारमा प्रस्तावहरूको मूल्यांकन गरिने प्राधिकरणले स्पष्ट पारेको छ। आवश्यक विवरण पेश गर्ने वा तोकिएका मापदण्ड पूरा नगर्ने प्रस्तावहरू स्वतः अस्वीकृत हुने पनि सूचनामा उल्लेख छ।
Advertisment