काठमाडौं : पर्यटकीय केन्द्र ठमेलमा अवस्थित ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडको व्यापार पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा सुधारिएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामै कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
इन्फोरिमेक्स क्रेडिट रेटिङका अनुसार कम्पनीको वार्षिक व्यापार पनि निरन्तर उकालो लागेको देखिन्छ। सन् २०२५ मा २८ करोड ६० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२४ मा २७ करोड ६० लाख, सन् २०२३ मा २३ करोड ६० लाख र सन् २०२२ मा ११ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो।
पछिल्ला तीन वर्षमा करिब ५२ प्रतिशतको आसपास स्थिर रहेको सञ्चालन नाफा मार्जिन चालु आर्थिक वर्षको छ महिनामा ४३.८६ प्रतिशत रहेको छ। यस अवधिमा ब्याज कभरेज अनुपात ३.११ गुणा तथा वर्तमान अनुपात ४.१९ गुणा रहेको छ ।
वित्तीय अवस्थामा सुधार आएपछि कम्पनीको कर्जा रेटिङ पनि स्तरोन्नति गरिएको छ। रेटिङ एजेन्सीले कम्पनीको दीर्घकालीन कर्जालाई ‘डबल बी प्लस’ र अल्पकालीन कर्जालाई ‘ए फोर प्लस’ मा अपग्रेड गरेको छ। साथै, यसअघि ‘नकारात्मक प्रभावसहित निगरानी’ मा राखिएको रेटिङ हटाइएको छ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा होटलको अकुपेन्सी दर करिब ६४ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधि अवधिमा ६३ प्रतिशत रहेको थियो । सन् २०१२ मा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको कम्पनी सन् २०२३ मा पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो।
हाल ‘रमादा एन्कोर काठमाडौँ ठमेल’ ब्रान्डअन्तर्गत सञ्चालनमा रहेको चारतारे होटलले १,१७० वर्ग मिटर क्षेत्रफलमा ९० कोठासहित सेवा दिँदै आएको छ। होटल सन् २०२१ जनवरी ८ देखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।
कम्पनीका प्रमुख शेयरधनी जगन्नाथ ज्ञवाली हुन्, जसको करिब १२ प्रतिशत शेयर स्वामित्व रहेको छ।
होटलले बैंकिङ कर्जा सुविधाका लागि ५२ करोड ८३ लाखको रेटिङ गराएको छ । जसमा दीर्घकालिन कर्जाका लागि ५० करोड ८२ लाख र अल्पकालिन कर्जाका लागि दुई करोड एक लाख रुपैयाँ रहेको छ ।
Advertisment