काठमाडौं : मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएका छन् । बुधबार सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले प्रेस ब्रिफिङमार्फत निर्णयहरु सार्वजनिक गरेका हुन् ।
जस अन्तरगत सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
यद्यपि सार्वजनिक बिदाका दिनहरू निर्धारण भने भइसकेको छैन ।
यसैगरी निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । बैठकले प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी घाइते भएमा त्यसको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको हो ।
सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार प्रेस ब्रिफिङमार्फत उक्त निर्णय सुनाएका हुन् । त्यस्तै, यस अवधिमा मृत्यु भएका सुरक्षाकर्मीको परिवारलाई सरकारले आर्थिक सहायता उपलब्ध गराउने पनि सरकारले निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
१. प्रधानमन्त्री तथा सोह्रौं योजना कार्यान्वयन कार्ययोजना (२०८१/८२–२०८५/८६) स्वीकृत
२. नेपाललाई ओइसीडी ग्लोबल फोरम अन ट्रान्सपेरेन्सी एण्ड एक्सचेन्ज अफ इन्फर्मेसन फर ट्याक्स पर्पोजको सदस्यता लिन स्वीकृति प्रदान गर्ने ।
३. चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रदान गर्ने प्रस्तावित चार मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने ।
४. चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने ।
५. बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न नेपालका ७७ वटै जिल्ला अदालतलाई तोक्ने ।
६. न्याय सेवा आयोगको सिफारिसबमोजिम दुईजना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा पदस्थापन गर्ने ।
७. विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने ।
८. निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको खर्च नेपाल सरकारले व्यहोर्ने । साथै, सो अवधिमा निजहरूको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने ।
९. २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा २०८२ फागुन २० देखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने ।
१०. श्री हितमान गुरुङ्गलाई बेलायतका राजाद्वारा प्रदान गरिने : मस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिश एम्पायर बीईएम उपाधि ग्रहण गर्न स्वीकृति प्रदान गर्ने
११. नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार गठित यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयनसम्बन्धी जाँचबुझ आयोगको कार्यावधि एक महिना थप गर्ने ।
१२.२०८२ चैत २५ देखि २७ गतेसम्म फ्रान्समा आयोजना हुने २१ औँ इन्टरपोल एनुअल हेड्स अफ एनसीबी कन्फरेन्समा प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्कीलाई सहभागी हुन स्वीकृति दिने ।
१३. २०८२ फागुन १८ र १९ गते भारतमा हुने रायसिना इनसाइट्स फोरम २०२६ विषयक कार्यक्रममा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक श्री ओमप्रकाश जोशीलाई सहभागी हुन स्वीकृत दिने ।
१४. नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ फागुन ४ देखि ७ गतेसम्म बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारेक रहमानको शपथ समारोहमा सहभागी हुनुभएका माननीय परराष्ट्र मन्त्रीको भ्रमण समर्थन गर्ने ।
१५. भौतिक पूर्वाधार चीन सरकारको अनुदान सहयोगमा निर्माण/स्तरोन्नति हुने कलङ्कीदेखि बसुन्धरासम्मको काठमाडौं चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौतामा उल्लेखित विषयहरूमा कर छुट दिने ।
१६ .नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको तदर्थ समितिलाई संवत २०८३ साल असार मसान्तसम्मको लागि निरन्तरता दिने र सो समितिले उक्त अवधिभित्र नयाँ कार्यसमिति गठन गर्ने गरी बाधा अडकाउ फुकाउन आदेश जारी गर्ने ।
१७. न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय महिलाको स्थिति सम्बन्धी आयोगको ७० औँ सम्मेलनमा २०८२ फागुन २५ देखि चैत ५ गतेसम्म सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृत प्रदान गर्ने ।
१८. २०८२ फागुन १ देखि ७ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभाको आसन्न निर्वाचन पछि उपयुक्त समयमा आयोजना गर्ने ।
१९. नेपाली सेनाका दुई जना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने र दुई जना महासेनानीको सरुवा गर्ने ।
२०. केराबारी–न्यु मस्र्याङ्दी–दरौँदी करिडोर १३२ केभी विद्युत प्रशारण लाइन आयोजना निर्माणको लागि राष्ट्रिय वनको वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख–पोल हटाउन स्वीकृति दिने।
२१. माथिल्लो जुनबेसी खोला जलविद्युत आयोजना निर्माणको लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख–पोल हटाउन स्वीकृति दिने ।
२२. सेती खोला जलविद्युत आयोजनाको १३२ केभी विद्युत प्रशारण लाइन आयोजना निर्माणको लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख–पोल हटाउन स्वीकृति दिने ।
२३. जेनजी परिषद् गठन गर्ने ।
२४. नेपाल सरकारका सचिवहरू डा. रामप्रसाद घिमिरे र डा। हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी दिने र उहाँहरूले हालसम्म पुर्याउनु भएको योगदानको लागि नेपाल सरकारको तर्फबाट धन्यवाद दिने ।
२५. नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका छ जना अधिकृतहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।
Advertisment