Below Menu
Below Menu

गार्मेन्ट उद्योगमा ८० करोड लगानी गर्दै मीनबहादुर गुरुङ: वार्षिक ५७ लाख थान कपडा उत्पादनको लक्ष्य 

गार्मेन्ट उद्योगमा ८० करोड लगानी गर्दै मीनबहादुर गुरुङ: वार्षिक ५७ लाख थान कपडा उत्पादनको लक्ष्य 

काठमाडौं : नेपालकै प्रमुख खुद्रा व्यापार समूह भाटभटेनी सुपरमार्केटका संस्थापक तथा अध्यक्ष मीनबहादुर गुरुङ अब औद्योगिक क्षेत्रमा पनि प्रवेश गरेका छन् । 

उनले गार्मेन्ट उत्पादनमा केन्द्रित ‘गार्मेन्ट गियर प्रालि’मार्फत नयाँ उद्योग स्थापना गर्ने तयारी अघि बढाएका छन् । जसले नेपालको निर्यातमुखी उद्योग क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

गत आर्थिक वर्षमा दर्ता गरिएको ‘गार्मेन्ट गियर प्रालि’ उद्योग लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला, रोहिणी गाउँपालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा निर्माणाधीन छ। यो उद्योग केवल उत्पादन केन्द्र नभई नेपालको गार्मेन्ट निर्यात क्षमतालाई विस्तार गर्ने रणनीतिक परियोजनाको रूपमा हेरिएको छ।

उद्योग निर्माणका लागि अध्यक्ष गुरुङले ८० करोड ४० लाख रुपैयाँ लगानी गर्ने योजना बनाएका छन्। कम्पनीले ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी संरचना अपनाउनेछ । जसमा ६० करोड रुपैयाँ ऋणमार्फत र २० करोड ४० लाख रुपैयाँ स्वपुँजीमार्फत लगानी हुने छ। 

हालसम्म उद्योग निर्माणमा करिब ३४ प्रतिशत भौतिक प्रगति भइसकेको छ भने स्वपुँजीमार्फत १५ करोड रुपैयाँ लगानी भइसकेको कम्पनीले जनाएको छ। कम्पनीले दीर्घकालीन तथा अल्पकालीन गरी कुल एक अर्ब ३० करोड रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधा रेटिङ गराइसकेको छ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ८० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५० करोड रुपैयाँको रेटिङ गराएको हो। केयर रेटिङ नेपालले कम्पनीको दीर्घकालीन कर्जालाई ‘बीबी माइनस’ र अल्पकालीन कर्जालाई ‘एफोर’ रेटिङ दिएको छ।

पूर्ण रूपमा सञ्चालनमा आएपछि उद्योगले वार्षिक करिब ५७ लाख ६० हजार थान कपडा उत्पादन गर्ने लक्ष्य राखेको छ। उद्योगले डेनिम बटम, लेगिङ, जेगिङ, ट्रेगिङ, प्यान्ट, सर्ट र निटवेयरजस्ता वस्तुहरू उत्पादन गर्नेछ। 

उद्योगमा उत्पादन हुने वस्तुहरु मुख्यतः संयुक्त राज्य अमेरिका, क्यानडा, युरोप र भारतमा निर्यात हुने उल्लेख छ भने भने आन्तरिक बजारमा पनि सीमित आपूर्ति हुनेछ। विशेषगरी, उत्पादित कपडाहरू भाटभटेनी सुपरमार्केटमार्फत बिक्री गरिने जनाइएको छ।

उद्योगका लागि आवश्यक कच्चा पदार्थ चीनबाट आयात गरिनेछ । कम्पनीले कपडा उत्पादनका लागि आवश्यक कच्चा पदार्थहरुका रूपमा प्रयोग हुने फ्याब्रिक चीनबाट आयात गर्ने हुँदा विदेशी मुद्रा विनिमय दर, विशेषगरी चिनियाँ युआनको उतारचढावले लागतमा सीधा असर पर्ने उल्लेख छ ।  साथै, अन्तर्राष्ट्रिय बजारमा मूल्य परिवर्तन, ढुवानी लागत र आपूर्ति श्रृंखलामा पनि जोखिम रहेको उल्लेख छ । 

गार्मेन्ट उद्योग उच्च कार्यशील पूँजीमा निर्भर हुने भएकाले निरन्तर कर्जा प्रयोग अनिवार्य हुने छ, जसले बैंक ब्याजदरमा हुने परिवर्तनप्रति कम्पनीलाई संवेदनशील बनाउँछ। यद्यपि पछिल्लो समय ब्याजदर केही स्थिर हुँदै गएकोले सहज वातावरण देखिएको पनि रिपोर्टमा उल्लेख छ । 

कम्पनीमा अध्यक्ष गुरुङसहित छ जना सञ्चालन सदस्य रहेका छन्। निर्देशकमा व्यवसायी उमेश श्रेष्ठ रहेका छन्। सेजमा स्थापना हुने उद्योगले पाउने कर छुट, भन्सार र भ्याट छुट जस्ता सुविधाले परियोजनाको वित्तीय व्यवस्थापनमा मद्दत पुग्ने उल्लेख छ ।  

सरकारले विशेष आर्थिक क्षेत्रमा गार्मेन्ट उद्योगका लागि पहिलो ५ वर्षसम्म कर्पोरेट आयकरमा शतप्रतिशत, त्यसपछि थप ५ वर्षसम्म ५० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरेको छ। आयातित कच्चा पदार्थ र मेसिनरीमा पनि भन्सार तथा भ्याट छुटको सुविधा उपलब्ध हुनेछ।

Advertisment

थप समाचार