काठमाडौं : एमएस ग्रुप अन्तर्गत सञ्चालनमा रहेको पाँचतारे होटल काठमाडौं मेरियट होटलको व्यापारमा सन् २०२५ मा करिब १० प्रतिशत गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२५ मा होटलको कुल कारोबार एक अर्ब ६२ करोड १० लाख रुपैयाँमा सीमित भएको छ।
जुन सन् २०२४ को एक अर्ब ७९ करोड ४० लाख रुपैयाँको तुलनामा उल्लेख्य रूपमा कम हो। सन् २०२३ मा भने होटलले एक अर्ब ७० करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो। यसरी हेर्दा पछिल्ला तीन वर्षमा होटलको व्यापार औसत एक अर्ब ७० करोड रुपैयाँको हाराहारीमा रहेको छ ।
व्यापार घटेसँगै सञ्चालन नाफामा पनि दबाब परेको छ। सन् २०२४ मा ३४.३९ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा घटेर ३२.२२ प्रतिशतमा झरेको छ।
होटलको औसत कोठा दर र अकुपेन्सी दर दुवैमा कमी आएको छ, जसमा अकुपेन्सी दर करिब ६७ प्रतिशतबाट घटेर ६१ प्रतिशतमा पुगेको छ। बढ्दो प्रतिस्पर्धाका कारण होटलको अकुपेन्सी दरमा गिरावट आएको रिपोर्टमा उल्लेख छ ।
होटल सञ्चालन गर्ने एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडको बैंकिङ सुविधासम्बन्धी क्रेडिट रेटिङ भने यथावत रहेको छ। केयर रेटिङ नेपालले कम्पनीको दीर्घकालीन बैंक सुविधामा ‘ट्रिपल बी’ र अल्पकालीन सुविधामा ‘एटु’ रेटिङ पुनः पुष्टि गरेको छ।
कम्पनीको कुल बैंक सुविधा करिब एक अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।कम्पनीले दीर्घकालिन कर्जाका लागि एक खर्ब ३३ करोड ४४ लाख र अल्पकालिन कर्जाका लागि १० करोड रुपैयाँको कर्जा रेटिङ गराएको हो ।
कम्पनीको वित्तीय संरचनामा भने सुधार देखिएको छ। सन् २०२५ को अन्त्यसम्म कुल गियरिङ अनुपात ०.७५ गुणामा झरेको छ, जुन सन् २०२४ मा १.०३ गुणा थियो। त्यस्तै, ब्याज कभरेज अनुपात ४.२१ गुणा पुगेको छ । कम्पनीसँग करिब २८ करोड ७० लाख रुपैयाँ नगद मौज्दात रहेको छ ।
रटिङ एजेन्सीले अन्तर्राष्ट्रिय होटल ब्रान्ड मेरियट इन्टरनेसनलसँगको सहकार्यलाई कम्पनीको प्रमुख बलियो पक्ष मानेको छ । यस सहकार्यले अन्तर्राष्ट्रिय स्तरको सेवा, मार्केटिङ नेटवर्क र ग्राहक आधार विस्तारमा सहयोग पुर्याउँदै आएको छ। विश्वव्यापी रूपमा मेरियटका ३० भन्दा बढी ब्रान्ड, ८ हजारभन्दा बढी होटल सम्पत्ति र १ सय ३९ देशमा उपस्थिति रहेको छ।
यद्यपि, कम्पनीको आम्दानी मुख्यतः एउटै होटल सम्पत्तिमा निर्भर रहनु जोखिमपूर्ण मानिएको छ। नक्सालमा अवस्थित यस होटलको प्रदर्शनमा आएको उतारचढावले कम्पनीको समग्र वित्तीय अवस्थालाई प्रत्यक्ष असर पार्न सक्ने रिपोर्टमा उल्लेख ।
त्यसैगरी, फ्लोटिङ ब्याजदरमा आधारित कर्जा र अमेरिकी डलरमा रहेको केही ऋणका कारण ब्याजदर तथा विनिमय दरको उतारचढावले पनि जोखिम थपिएको छ। यद्यपि, डलरमै हुने केही आम्दानीले यस्तो जोखिम आंशिक रूपमा सन्तुलन गर्ने अपेक्षा गरिएको छ।
पर्यटन क्षेत्रप्रति सरकारको प्राथमिकता, सहुलियत तथा कर छुटका व्यवस्थाले भने होटल उद्योगका लागि सकारात्मक संकेत देखाएको छ। यसले आगामी वर्षहरूमा होटल व्यवसाय विस्तारको सम्भावना बढाउने अपेक्षा गरिएको छ।
एमएस ग्रुपले पछिल्लो समय होटल क्षेत्रमा आक्रामक रूपमा लगानी विस्तार गरिरहेको छ। नक्सालस्थित मेरियट होटलसँगै ग्रुपले ठमेलमा फेयरफिल्ड बाई मेरियट सञ्चालन गरिरहेको छ भने कमलादीमा नयाँ चारतारे होटल निर्माण गरेको छ ।
कम्पनीका अध्यक्ष सुमितकुमार अग्रवाल रहेका छन् । उनी भगवती स्टिल इन्डष्ट्रिजका अध्यक्ष समेत हुन्। उनको नेतृत्वमा सात सदस्यीय सञ्चालक समिति रहेको छ। यस्तै, गौरव अग्रवाल एभरेष्ट हस्पिटालिटीका प्रवन्ध सञ्चालक तथा एमएस ग्रुपका सञ्चालकका रूपमा कार्यरत छन्।
लामो व्यवसायिक अनुभव बोकेको एमएस ग्रुपले सन् २०१३ मा एभरेष्ट हस्पिटालिटीको स्थापना गरेको हो । होटल पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भइसकेको छ ।
Advertisment