Below Menu
Below Menu

स्वर्णिम होटलले गर्यो छ महिनामा साढे नौ करोडको व्यापार, जेनजी आन्दोलनले अकुपेन्सीमा दबाब 

स्वर्णिम होटलले गर्यो छ महिनामा साढे नौ करोडको व्यापार, जेनजी आन्दोलनले अकुपेन्सीमा दबाब 

काठमाडौं : स्वर्णिम होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ९ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। कम्पनीले सन् २०२५ मा २३ करोड २० लाख रुपैयाँ र सन् २०२४ मा ८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो।  

चालु आवको छ महिनामा कम्पनीको सञ्चालन नाफा मार्जिन (ईबीआईटिडिए) १६.६४ प्रतिशत रहेको छ। तर, उच्च ब्याज खर्चका कारण कम्पनीको खुद नाफा भने अझै नकारात्मक अवस्थामा रहेको छ ।

इन्फोरिमेक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको दीर्घकालीन बैंक सुविधा अन्तर्गत ९९ करोड २६ लाख रुपैयाँमा ‘आईआरएन बीबी प्लस’ रेटिङ पुनः पुष्टि गरेको छ। रेटिङ एजेन्सीका अनुसार कम्पनीको चुक्ता पूँजी करिब ५३ करोड ५० लाख रुपैयाँबाट बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

सन् २०१२ मा स्वर्णिम बुटिक होटल प्रालिका रूपमा स्थापना भएको कम्पनी २०२४ मा पब्लिक कम्पनीमा रूपान्तरण भई स्वर्णिम होटल लिमिटेड बनेको हो। हाल कम्पनीले काठमाडौंको नक्सालमा ‘होलिडे इन एक्स्प्रेस’ ब्रान्ड अन्तर्गत होटल सञ्चालन गरिरहेको छ ।  जुन होटल इन्टरकन्टिनेन्टल होटल्ससँगको व्यवस्थापन सम्झौतामा आधारित छ। 

होटलमा १०० कोठा रहेका छन्, जसमा ९९ डिलक्स र १ स्विट कोठा समावेश छन्। होटल सन् २०२३ को डिसेम्बरदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।

होटलको अकुपेन्सी दरमा पनि सुधार देखिएको छ। सन् २०२४ मा करिब ३६ प्रतिशत रहेको अकुपेन्सी सन् २०२५ मा बढेर ६९ प्रतिशत पुगेको थियो भने चालु आवको छ महिनामा करिब ६३ प्रतिशतमा कायम रहेको छ।  

कम्पनीमा नरेश लाल श्रेष्ठको ३८ प्रतिशत स्वामित्व रहेको छ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्गतको लगानी कम्पनीको पनि २०.५२ प्रतिशत हिस्सा रहेको छ। अनुभवी प्रवद्र्धक समूह र व्यवस्थापन टोली कम्पनीका प्रमुख सबल पक्षका रूपमा उल्लेख गरिएको छ।

यद्यपि, होटल क्षेत्रको मौसमी र चक्रीय प्रकृति, विदेशी पर्यटकमा निर्भरता र काठमाडौंमा बढ्दो प्रतिस्पर्धा कम्पनीका मुख्य चुनौती बनेका छन्। हालैको जेनजी आन्दोलनले समेत अकुपेन्सी र आम्दानीमा केही दबाब सिर्जना गरेको रिपोर्टमा उल्लेख गरिएको छ।

यसैबीच, कम्पनीले करिब ६८ करोड रुपैयाँ लागतमा होटल विस्तार योजना अघि बढाएको छ। विस्तारका लागि कम्पनीले ३८ करोड रुपैयाँ बराबरको ३८ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ।  

Advertisment

थप समाचार