काठमाडौं : नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तत्कालीन सञ्चालकहरूसँग फेरि स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
यसअघि राष्ट्र बैंकले असोज २८ गते पत्रमार्फत १५ दिनभित्र आफ्नो सफाइ तथा स्पष्टीकरण पेश गर्न भनेको थियो, तर उक्त समयमा कुनै जवाफ प्राप्त नभएपछि पुनः आग्रह गरेको हो।
राष्ट्र बैंकले स्पष्टीकरण मागेको व्यक्तिहरूमा बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष डा. ओम प्रकाश मिश्र र सदस्यहरू युवराज अधिकारी, उषा कुमारी भण्डारी, टंक बहादुर बस्नेत तथा निसार अहमद दर्जी पर्छन्।
उनीहरूलाई सञ्चालकको पदबाट बर्खास्त गर्नु नपर्ने कुनै कारण भए आफूले स्पष्टीकरण पेश गर्न १० दिनभित्र निर्देशन दिइएको छ।
निजहरूले स्पष्टीकरण पेश गर्न सक्ने स्थानहरूमा वित्तीय संस्था सुपरिवेक्षण विभाग, नेपाल राष्ट्र बैंक, नेपालगञ्ज कार्यालय, तथा व्यवस्थापन समूह, कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, नेपालगञ्ज रहेका छन्।
कर्णाली डेभलपमेन्ट बैंकलाई २०८१ पुस १० गते समस्याग्रस्त घोषित गरिएको थियो।
Advertisment