काठमाडौं : अन्नपूर्ण केबलकार लिमिटेडले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ७ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। कम्पनीको पछिल्ला तीन वर्षको औसत कारोबार करिब ७ करोड ७६ लाख रुपैयाँ रहेको छ । सन् २०२४ र २०२५ दुवै वर्षमा कम्पनीले ८ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो।
कम्पनीको अकुपेन्सी दरमा उल्लेख्य सुधार आएको छ। अघिल्लो आर्थिक वर्षमा १० प्रतिशत रहेको अकुपेन्सी चालु आवमा बढेर १६ प्रतिशत पुगेको छ।
यससँगै सञ्चालन नाफामा पनि वृद्धि देखिएको छ। सन् २०२४ मा २२.४० प्रतिशत रहेको नाफा मार्जिन सन् २०२५ मा ४१.७२ प्रतिशत पुगेको थियो भने चालु आर्थिक वर्षको पहिलो छ महिनामै ६२.९५ प्रतिशत पुगेको छ।
कम्पनीले सन् २०२५ र चालु आवको यस अवधिमा उल्लेखनीय इक्विटी लगानी भित्र्याएको छ। यसका कारण ऋणको आंशिक पूर्वभुक्तानी गरिएको छ, जसले भविष्यमा ऋणभार घटाउँदै वित्तीय जोखिम कम गर्ने अपेक्षा गरिएको छ।
गियरिङ अनुपात पनि क्रमशः घट्दै गएको छ । सन् २०२४ मा १.१३ गुणा रहेको यो अनुपात सन् २०२५ मा ०.७८ गुणा र चालु आवको छ महिनामा ०.६० गुणामा झरेको छ। सन् २०२५ मा ३४ करोड २० लाख र सन् २०२६ को छ महिनामा १५ करोड ४० लाख रुपैयाँ बराबरको थप इक्विटी लगानी हुँदा गियरिङ अनुपात घटेको हो ।
कम्पनीको ऋण व्यवस्थापनमा पनि सुधार देखिएको छ। सन् २०२४ मा ०.९९ गुणा रहेको ब्याज कभरेज रेसियो सन् २०२५ मा घटेर ०.६० गुणा पुगेको थियो। तर चालु आर्थिक वर्षको पहिलो छ महिनामा यो सुधार हुँदै १.६१ गुणा पुगेको छ।
त्यसैगरी, अघिल्ला वर्षहरूमा नकारात्मक रहेको कुल ऋण र नगद आम्दानीको अनुपात अहिले सुधार भएर २३.५५ गुणा पुगेको छ। यद्यपि, कम्पनीको सम्पूर्ण आम्दानी एउटै परियोजनामा निर्भर रहेकाले भौगोलिक जोखिम उच्च रहेको रिपोर्टमा उल्लेख छ।
साराङकोट क्षेत्रमा उच्च वर्षा हुने भएकाले मौसमका कारण सञ्चालनमा असर पार्नुका साथै, पर्यटक आगमनमा हुने उतारचढावले पनि कम्पनीको आम्दानीमा प्रभाव पार्ने केयर रेटिङले औँल्याएको छ ।
सन् २०१० मा स्थापना भएको कम्पनी मे २०२३ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीले पोखरा को पर्यटकीय क्षेत्र साराङकोटमा केबलकार सेवा सञ्चालन गर्दै आएको छ।
सन् २०२२ को जुलाईबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको यो केबलकार सेवा सेती बगरदेखि साराङकोटसम्म २.३ किलोमिटर लम्बाइमा फैलिएको छ । जहाँ १७ वटा गोन्डोलामार्फत यात्रु ओसारपसार गरिन्छ।
कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कुल ८२ करोड १ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ। हाल कम्पनीको नेतृत्व अध्यक्ष कालु गुरुङले गरिरहेका छन्।
Advertisment