Below Menu
Below Menu

पश्चिमाञ्चल चिनी उद्योगको नयाँ प्लान्ट : एक अर्ब ५० करोडको लगानी र ३ हजार टनको क्षमता

पश्चिमाञ्चल चिनी उद्योगको नयाँ प्लान्ट : एक अर्ब ५० करोडको लगानी र ३ हजार टनको क्षमता

काठमाडौं : पश्चिमाञ्चल चिनी उद्योग प्राइभेट लिमिटेडले एक अर्ब ५० करोड रुपैयाँको लगानीमा चिनी उत्पादन प्लान्ट निर्माण गरिरहेको छ। बर्दियाको गुलरिया-१२ मा निर्माणाधीन उक्त उद्योगको दैनिक ऊखु क्रसिङ क्षमता ३ हजार टन रहनेछ। 

कम्पनीका अनुसार हालसम्म परियोजनाको वित्तीय प्रगति करिब ३३ प्रतिशत पुगेको छ। परियोजना ५७ः४३ को ऋण–पुँजी संरचनामा अघि बढाइएको छ।

कम्पनीले एक अर्ब २५ करोड रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधाका लागि रेटिङ गराइसकेको छ । जसमा ८५ करोड रुपैयाँ दीर्घकालीन र ४० करोड रुपैयाँ अल्पकालीन कर्जाको रेटिङ गराएको हो । 

केयर रेटिङका अनुसार परियोजनाले कार्यान्वयन जोखिम, प्रारम्भिक सञ्चालनको स्थायित्व, कच्चा पदार्थको अनिश्चित आपूर्ति तथा कृषि उत्पादनसँग सम्बन्धित मूल्य उतार–चढावजस्ता चुनौतीहरू सामना गर्नुपर्ने देखिएको छ। 

चिनी उद्योगको मौसमी प्रकृतिका कारण नोभेम्बरदेखि अप्रिलसम्म मात्र उत्पादन हुने हुँदा बाँकी ३ देखि ६ महिनासम्म चिनी भण्डारण गर्नुपर्ने अवस्था रहन्छ। यसले कार्यशील पूँजीको आवश्यकता बढाउनुका साथै नगद प्रवाहमा दबाब सिर्जना गर्ने सम्भावना छ।

ऊखु उत्पादन वर्षा, तापक्रम तथा रोग–किराजस्ता प्राकृतिक कारकमा निर्भर हुने भएकाले कच्चा पदार्थको आपूर्ति अस्थिर रहने जोखिम पनि उच्च छ। साथै, ऊखुको मूल्य सरकारले निर्धारण गर्ने तर चिनीको मूल्य बजारमा आधारित हुने हुँदा नाफामा उतार–चढाव आउने सम्भावना देखिन्छ।

कम्पनीलाई महाकाली चिनी उद्योगले पूर्ण कर्पोरेट ग्यारेन्टी प्रदान गरेको छ। उद्योगको नेतृत्व अध्यक्ष शिखर श्रेष्ठले गरिरहेका छन्। बर्दिया, कैलाली, कञ्चनपुर र बाँके जिल्लामा फैलिएको ऊखु उत्पादन क्षेत्रसँगको नजिकको पहुँचले कच्चा पदार्थ आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।  

नेपालमा चिनीको माग निरन्तर बढ्दै गए पनि घरेलु उत्पादनले माग धान्न सकेको छैन। सरकारले ऊखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै किसानलाई अनुदान प्रदान गर्दै आएको छ। 

तर चालु आर्थिक वर्षमा चिनी आयातमा लाग्ने भन्सार शुल्क ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारिएकोले स्वदेशी उद्योगका लागि प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ।

सन् २०२४ मा स्थापना भएको उक्त कम्पनीले चिनीका साथै मोलासेस, बगास र प्रेस माटोजस्ता उप–उत्पादनसमेत उत्पादन गर्ने लक्ष्य राखेको छ।