Below Menu
Below Menu

शेर्पा हस्पिटालिटीले साढे दुई अर्ब लगानीको पाँच तारे ‘ले शेर्पा होटल’ ल्याउँदै, ६२ प्रतिशत काम सकियो

शेर्पा हस्पिटालिटीले साढे दुई अर्ब लगानीको पाँच तारे ‘ले शेर्पा होटल’ ल्याउँदै, ६२ प्रतिशत काम सकियो

काठमाडौं : शेर्पा हस्पिटालिटी ग्रुपले लैनचौरमा पाँचतारे स्तरको ‘ले शेर्पा होटल’ निर्माणलाई तीव्रता दिएको छ। करिब २ अर्ब ६० करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको यस परियोजना हाल करिब ६२ प्रतिशत वित्तीय प्रगतिमा पुगेको छ । 

परियोजनाअनुसार १० तले भवनमा ११० कोठा रहनेछन् भने अन्तर्राष्ट्रिय स्तरका सुविधा समावेश गरिनेछ। होटलमा उच्चस्तरीय रेस्टुरेन्ट, स्विमिङ पूल, सम्मेलन तथा बैंक्वेट हल, स्पा, क्यासिनो लगायतका सेवा उपलब्ध हुनेछन्।

स्वदेशी तथा विदेशी दुवै पर्यटकलाई लक्षित गरी निर्माण भइरहेको यो होटल राजधानीको पर्यटन केन्द्रित बजारमा प्रतिस्पर्धात्मक रूपमा उभ्याउने लक्ष्य राखिएको छ।

परियोजनाको वित्तीय संरचना हेर्दा १ अर्ब ७५ करोड रुपैयाँ बैंक ऋणमार्फत जुटाइएको छ भने बाँकी रकम संस्थापकहरूको इक्विटी लगानीबाट व्यवस्थापन गरिएको छ। यद्यपि, बाँकी ऋण स्रोत पूर्ण रूपमा सुनिश्चित भइनसकेको अवस्थाले परियोजना समयमै सम्पन्न हुने विषयमा केही अनिश्चितता अझै बाँकी रहेको देखिन्छ।

शेर्पा हस्पिटालिटी ग्रुपले देशभर ३० भन्दा बढी होटल सञ्चालन गर्दै आएको छ । समूहले यती एयरलाइन्स र तारा एयर सञ्चालन गरिरहेको छ। समूहका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पा र व्यवस्थापन टोलीमा रहेका अनुभवी व्यवसायीहरू रहेका छन् ।

उनी थामसेर्कु ट्रेकिङका प्रबन्ध निर्देशक र पासङ ल्हामु पर्वतारोहण फाउन्डेसनका प्रथम उपाध्यक्ष छन्। उनी मुस्ताङ माउन्टेन होम लिमिटेड र गोकर्ण फरेस्ट रिसोर्टका सञ्चालक पनि हुन्।

यस्तै सञ्चालक चन्द्र शेर्पा उड्डयन र पर्यटन व्यवसायमा चार दशकभन्दा बढी अनुभव छ। उनी यती एयरलाइन्सका प्रबन्ध निर्देशक र यती एडभेन्चरका अध्यक्ष पनि हुन्। ले शेर्पा होटल सन् २०१४ मा स्थापना भएको थियो।

यद्यपि, इक्रा नेपालले सार्वजनिक गरेको ऋण मूल्याङ्कन प्रतिवेदनले परियोजनासँग सम्बन्धित जोखिमहरू औंल्याएको छ

निर्माणाधीन अवस्थामा कार्यान्वयन जोखिम उच्च रहेको, होटल सञ्चालनपछि स्थिर आम्दानी हासिल गर्न लामो समय लाग्ने, तथा आतिथ्य उद्योगको चक्रीय प्रकृतिका कारण आम्दानीमा उतारचढाव आउने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

कम्पनीले दीर्घकालिन बैंकिङ कर्जा सुविधाका लागि एक अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ । 

Advertisment

थप समाचार