काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३ का लागि बैंक बिदाको वार्षिक सूची सार्वजनिक गरेको छ । सूचना अनुसार आगामी वर्ष देशभरका बैंक तथा वित्तीय संस्थाहरू कुल २९ दिन पूर्ण रूपमा बन्द रहनेछन्।
सूचीअनुसार बिदा नयाँ वर्ष १ वैशाख २०८३ देखि सुरु हुनेछ। त्यसपछि विश्व मजदुर दिवस (१८ वैशाख), गणतन्त्र दिवस (१५ जेठ), गाईजात्रा (१३ भदौ) र श्रीकृष्ण जन्माष्टमी (१९ भदौ) जस्ता प्रमुख दिनहरूमा बैंकहरू पूर्ण रूपमा बन्द रहनेछन्।
यसैगरी हरितालिका तीज (२९ भदौ), संविधान दिवस (३ असोज), इन्द्रजात्रा (९ असोज–काठमाडौं उपत्यकामा मात्र) र जितिया पर्व (१८ असोज) का दिन भने आवश्यकता अनुसार बैंकहरूले पूर्ण वा आंशिक सेवा सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ।
दशैं पर्वका लागि २५ असोज (घटस्थापना) देखि बिदा सुरु भई ३१ असोज (फूलपाती) देखि ६ कात्तिक (द्वादशी) सम्म निरन्तर बैंक बन्द रहनेछन्। त्यसैगरी तिहारमा २२ कात्तिक (लक्ष्मीपूजा) देखि २६ कात्तिक (भाइटिका) सम्म बिदा कायम गरिएको छ। यी प्रमुख चाडपर्वहरूमा अत्यावश्यक सेवा सञ्चालनका लागि न्यूनतम कर्मचारी खटाइने राष्ट्र बैंकले जनाएको छ।
यस बाहेक छठ पर्व, माघे संक्रान्ति, सहिद दिवस लगायतका विभिन्न धार्मिक तथा सांस्कृतिक अवसरहरूमा पनि आवश्यकताअनुसार बैंकहरूले पूर्ण वा आंशिक सेवा प्रदान गर्न सक्ने जनाइएको छ।
यस्तै विभिन्न समुदायका पर्वहरू, मुस्लिम समुदायका चाड, किराँत समुदायका उभौली–उधौली, गुरुनानक जयन्ती तथा क्रिसमस डे, छठ पर्व, अरु धार्मिक तथा जातीय पर्व, माघे संङ्क्रान्ति, सहिद दिवसलगायतका विशेष दिनहरूमा बैंकहरू पूर्ण बिदा वा आंशिक सेवा दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले २३ चैत २०८३ मा पर्ने घोडेजात्रा लगायतका अवसरमा आवश्यकताअनुसार सरकारको निर्णय अनुसार बैंक बन्द गर्न वा कर्मचारीलाई बिदा दिन सकिने जनाएको छ।
साथै, हरेक शनिबार पूर्ण बिदा र शुक्रबार आधा दिन बिदा रहने व्यवस्था यथावत् राखिएको छ भने मौसमअनुसार कार्यालय समय पनि फरक–फरक हुने उल्लेख गरिएको छ।
Advertisment