ललितपुर : अर्थतन्त्रमा आएको सुस्तताका कारण ठूला कर्जाको माग अपेक्षित रूपमा बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरू यतिबेला साना कर्जामा केन्द्रित हुन थालेका छन् । बैंकिङ प्रणालीमा ठूलो मात्रामा निक्षेप थुप्रिएर बस्दा लागत बढ्दै गएको र आम्दानी पनि घट्दै गएको अवस्थाले वित्तीय संस्थाहरूलाई नयाँ रणनीति अपनाउन बाध्य बनाएको छ ।
हाल बैंकिङ प्रणालीमा करिब ७ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम मौज्दात रहेको छ । सरकार र नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह बढाउन नीतिगत लचकता अपनाउँदै आए पनि अपेक्षित माग सिर्जना हुन सकेको छैन । ब्याजदर घट्दो क्रममा रहे पनि कर्जा विस्तारमा उल्लेख्य सुधार नदेखिँदा बैंकहरूमा रकम थुप्रिने क्रम जारी रहेको छ ।
यही परिस्थितिलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरूले साना तथा सहज कर्जा योजनाहरू सार्वजनिक गर्न थालेका छन् । यसै क्रममा राष्ट्रिय सहकारी बैंकले “योजना तपाँईको, साथ हाम्रो” भन्ने नारासहित ‘सुनौलो कर्जा’ योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत सदस्य सहकारी संघ/संस्थाहरूले अब बैंकमै धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । ऋणका लागि इच्छुक संस्थाले बैंकको वेवसाइटमा रहेको फर्म भरेपछि बैंकका कर्मचारी स्वयं सम्बन्धित संस्थाको कार्यालयमै पुगेर आवश्यक कागजात तयारी गर्नेछन् । कर्जा माग गर्ने संघ÷संस्थाले आफ्नो संस्थाको नाम, ठेगाना, अपेक्षित कर्जा माग रकम, कर्जा माग गर्नुको उद्देश्य लगायतका सामान्य विवरण प्रविष्टी गरी सम्पूर्ण प्रक्रिया पूरा भएपछि एकदेखि दुई दिनभित्रै ऋण प्रवाह गरिने व्यवस्था गरिएको बैंकको कर्जा विभागका प्रमुख बिष्णु प्रसाद पराजुलीले जानकारी दिए ।
उहाँका अनुसार ‘सुनौलो कर्जा’ योजना अन्तर्गत अधिकतम २५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ, भने ब्याजदर ४.५ प्रतिशत कायम गरिएको छ । ऋण अवधि अधिकतम ५ वर्षको हुनेछ । धितो वा बिनाधितो दुवै आधारमा ऋण लिन सकिनेछ । साथै, ऋण लिने संस्थाहरूलाई निःशुल्क एसएमएस तथा इन्टरनेट बैंकिङ सेवा समेत प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस योजनासँगै अन्य कर्जाका प्रोडकहरु पनि यस्तै डिजिटल र पहुँचमै आधारित प्रणालीमार्फत उपलब्ध गराइनेछ । यसले सहकारी क्षेत्रका सदस्य संस्थाहरूलाई छिटो, सहज र झन्झटरहित वित्तीय सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
“उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकमा हाल १६ हजार भन्दा बढी सहकारी संघ संस्थाहरु सदस्य रहेका छन् । बैंकले आफ्ना सदस्यहरुलाई सदस्य सेवा तथा पैरवी, गुणस्तरीय वित्तीय सेवा, संस्थागत विकास तथा सुशासन र नवीनतम सूचना, प्रविधि तथा प्राविधिक सेवा दिइरहेको छ ।
Advertisment