काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले संस्थागत संरचना कमजोर भएकै कारण नेपाल आर्थिक विकासमा पछाडि परेको बताएका छन्।
भविष्यको आँकलन गर्ने क्षमता र बनेका योजनाको प्रभावकारी कार्यान्वयन कमजोर हुँदा देशको आर्थिक प्रगति सुस्त भएको उनको भनाइ थियो। उनले अब पनि नवीन प्रविधि अपनाउन नसके नेपाल अझै पछाडि पर्ने चेतावनी दिए।
आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल राष्ट्र बैंकको सहकार्यमा आयोजित आर्थिक पत्रकारहरूको दुई दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै गभर्नर पौडेलले जनताको मनोबल कमजोर भएका बेला सरकारले नै अग्रसर भएर प्रतिफलमुखी योजनामा लगानी गर्नुपर्ने बताए।
निजी क्षेत्रलाई पनि यस्ता योजनामा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने उनले जोड दिए। पछिल्लो समय कर्जाको माग घट्दा बैंकहरूमा तरलता थुप्रिएको उल्लेख गर्दै अब सरकारले खर्च बढाएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताए।
उनले हरेक आर्थिक विषयलाई फरक–फरक आधारमा विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याउँदै आर्थिक पत्रकारहरूमा गहिरो विश्लेषण क्षमता हुनुपर्ने बताए। यस्ता कार्यक्रमहरूले पत्रकारको विश्लेषण क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उनको विश्वास थियो।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै राष्ट्र बैंकका मानव संशाधन विभागका निर्देशक बुद्धराज शर्मा ले सबै आर्थिक पत्रकारले औपचारिक रूपमा अर्थशास्त्र अध्ययन नगरेको हुन सक्ने भएकाले बैंकिङ विश्लेषणसम्बन्धी क्षमता विकास गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताए। उनले पत्रकारको विश्लेषण क्षमता बढेमा आम नागरिकले अर्थतन्त्रसम्बन्धी समाचार स्पष्ट रूपमा बुझ्न सक्ने विश्वास व्यक्त गरे।
नाफिजकी अध्यक्ष मेनुका कार्की ले राष्ट्र बैंकको सहकार्यमा हरेक वर्ष तालिम कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी दिइन्। यसअघि बैंकिङ क्षेत्र केन्द्रित पाठ्यक्रम समावेश गरिँदै आएकोमा यस वर्ष बृहत् र सूक्ष्म अर्थशास्त्रका विषयहरू समेत समेटिएको बताइन्। यसले आर्थिक पत्रकारहरूको ज्ञानको दायरा विस्तार गर्ने अपेक्षा गरिएको छ।
बिहीबारसम्म सञ्चालन हुने उक्त अभिमुखीकरण कार्यक्रममा विभिन्न विषय विज्ञहरूले अर्थतन्त्र र बैंकिङसम्बन्धी सत्रहरू सञ्चालन गर्नेछन्।
Advertisment