Below Menu
Below Menu

सरकारी ढुकुटीमा करिब नौ खर्ब मौज्दात, राष्ट्र बैंकको रिजर्भ र नगद प्रवाहमा उल्लेख्य सुधार

सरकारी ढुकुटीमा करिब नौ खर्ब मौज्दात, राष्ट्र बैंकको रिजर्भ र नगद प्रवाहमा उल्लेख्य सुधार

काठमाडौं  : चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा बजारमा नगद प्रवाह, सरकारी ढुकुटीको मौज्दात तथा राष्ट्र बैंकको समग्र दायित्वमा उल्लेख्य वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार आर्थिक गतिविधिमा सुधारसँगै सरकारी वित्तीय अवस्था पनि मजबुत बन्दै गएको देखिएको हो । 

फागुन मसान्तसम्म बजारमा चलनचल्तीमा रहेको नगद (करेन्सी इन सर्कुलेसन) सात खर्ब ९६ अर्ब २० करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत असारको तुलनामा नगद प्रवाहमा वृद्धि भएको छ । असारसम्म ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँ बराबर मात्र नगद बजारमा रहेको थियो।

यसैगरी, सरकारी खाताको मौज्दातमा पनि उल्लेख्य सुधार भएको छ । फागुन सरकारी खातामा आठ खर्ब ८९ अर्ब ९५ करोड रुपैयाँ मौज्दात रहेको छ, जुन असारमा ६ खर्ब ५४ अर्ब ५ करोड रुपैयाँ मात्र थियो।  

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको सरकारी निक्षेप पनि उल्लेख्य रूपमा बढेको छ । फागुनसम्म यस्तो निक्षेप तीन खर्ब ४४ अर्ब ९२ करोड १९ रुपैयाँ पुगेको छ । असारसम्म ७० अर्ब ८३ करोड ७० लाख रुपैयाँ मात्र थियो। यस अवधिमा सरकारी निक्षेप दुई खर्ब ७४ अर्ब आठ करोड रुपैयाँले बढेको हो । 

त्यसैगरी, सरकारको सरप्लस मौज्दात १७ अर्ब रुपैयाँ पुगेको छ । गत असारमा यस्तो मौज्दात ४२ अर्ब रुपैयाँ रहेको थियो । कर्मचारी पेन्सन तथा अन्य सुविधा वापतको दायित्व ९ अर्ब ७४ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने अन्य दायित्वहरू तीन अर्ब १९ करोड रुपैयाँ रहेका छन्।

राष्ट्र बैंकको रिजर्भ पनि बढेर ९ खर्ब ६२ अर्ब ४१ करोड ४३ लाख रुपैयाँ पुगेको छ । असारसम्म यस्तो रिजर्भ ६ खर्ब ७१ अर्ब रुपैयाँ रहेको थियो।

इक्विटी तर्फ, राष्ट्र बैंकको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ यथावत् रहेको छ। राष्ट्र बैंकको कुल दायित्व फागुन मसान्तसम्म ३४ खर्ब ४७ अर्ब ३४ करोड १६७ लाख रुपैयाँ पुगेको छ । जुन असारसम्म २६ खर्ब ७१ अर्ब २३ करोड रुपैयाँ मात्र थियो । 

विदेशी मुद्रामा रहेका दायित्व पनि बढेका छन् । फागुन मसान्तसम्म विदेशी मुद्रामा रहेका कुल दायित्व ५६ अर्ब २४ करोड ६० लाख रुपैयाँ पुगेको छ, जबकि असार मसान्तमा यो ५१ अर्ब ७३ करोड १३ लाख २८ हजार रुपैयाँ थियो।

यी दायित्वमध्ये बैंक तथा वित्तीय संस्थाको निक्षेप १२ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ रहेको छ भने आईएमएफसँग सम्बन्धित दायित्व ४३ अर्ब ९० करोड १६ लाख रुपैयाँ रहेको छ । 

स्थानीय मुद्रामा रहेका दायित्वतर्फ अझ तीव्र वृद्धि देखिएको छ। फागुन मसान्तसम्म स्थानीय मुद्रामा रहेका कुल दायित्व २४ खर्ब २३ अर्ब ६८ करोड १३ लाख रुपैयाँ पुगेका छन् । असार मसान्तमा यस्तो दायित्व १९ खर्ब ४३ अर्ब ४८ करोड १८ लाख रुपैयाँ थियो।

Advertisment

थप समाचार