काठमाडौं : गोदावरी स्टील लिमिटेडले सन् २०२५ मा ५ अर्ब एक करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २१.७७ प्रतिशतले कम हो ।
कम्पनीले सन् २०२४ मा ६ अर्ब ४० करोड ६० लाख र सन् २०२३ मा ६ अर्ब ३० करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । उत्पादन र बिक्री दुवै घटेका कारण आम्दानीमा गिरावट आएको कम्पनीले जनाएको छ ।
साथै कम्पनीको व्यापारसँगै नाफा मार्जिनमा पनि गिरावट आएको छ । सन् २०२४ मा ९.६० प्रतिशत रहेको नाफा मार्जिन सन् २०२५ मा घटेर ७.७६ प्रतिशतमा सीमित भएको छ । यद्यपि, खुद नाफा भने ४ करोड रुपैयाँबाट बढेर ४० करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०२५ मा समग्र गियरिङ अनुपात ३.०५ गुणा रहेको छ । जुन अघिल्लो वर्षको ३.९८ गुणाबाट सुधार भएको छ भने ब्याज तिर्ने क्षमता १.३५ गुणामा सीमित छ । जसले कम्पनीको नगद प्रवाहमा दबाब देखाएको छ ।
हाल कम्पनीले थप ७२ हजार मेट्रिक टन वार्षिक क्षमता बढाउने लक्ष्यसहित सेक्शन मिल जडान गरिरहेको छ । कम्पनीको कुल आम्दानीको करिब ९० प्रतिशत कच्चा पदार्थमै खर्च हुने भएकाले मूल्य वृद्धि हुँदा प्रत्यक्ष असर नाफामा पर्ने उल्लेख छ । साथै, करिब ७५ प्रतिशत कच्चा पदार्थ आयात गर्नुपर्ने भएकाले अमेरिकी डलरको भाउ परिवर्तन हुँदा जोखिम बढाउने जनाइएको छ ।
गोदावरी समूह अन्तर्गत सञ्चालनमा रहेको कम्पनीमा मुन्ना प्रसाद सेनुरियाको शेयर स्वामित्व रहेको छ । सन् २०१९ देखि सञ्चालनमा आएको गोदावरी स्टिल्सको कारखाना चन्द्रनिगाहपुर, रौतहटमा छ ।
कम्पनीले स्टील रड, प्लेन स्टील बार, स्टील बिलेट र तारहरू उत्पादन गर्दै आएको छ । उद्योगको टिएमएटी र प्लेन स्टिल बार उत्पादन क्षमता दैनिक ६ सय टन छ । कम्पनीले आफ्नो उत्पादनहरु ‘गोदावरी स्टिल’ नामबाट बिक्री गर्दै आइरहेको छ ।
कम्पनीले सात अर्ब ६० करोड रुपैयाँ कर्जाका लागि रेटिङ पुनः गराएको छ । जसमध्ये ३ अर्ब ३२ करोड रुपैयाँ दीर्घकालीन कर्जाका लागि ‘केयर एनपी बीबी माइनस’ र अल्पकालिन कर्जाका लागि ४ अर्ब २८ करोड रुपैयाँ कर्जाका लागि ‘केयर एनपी ए४’ रेटिङ पाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले सभामा जारी पुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने भएको छ । जसमा १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन हुनेछ । बाँकी रहेको २० प्रतिशत शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त २० प्रतिशतमा १० प्रतिशत शेयर श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र ५ प्रतिशत शेयर संस्थामा कार्यरत कर्मचारी तथा ५ प्रतिशत सेयर सामुहिक लगानी कोषहरुलाई निष्कासन गरिने छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
Advertisment