Below Menu

वाणिज्य बैंकहरुले कमाए आठ महिनामा पौने ४४ अर्ब नाफा, अर्ब क्लबमा पुगेनन् तीन बैंक 

वाणिज्य बैंकहरुले कमाए आठ महिनामा पौने ४४ अर्ब नाफा, अर्ब क्लबमा पुगेनन् तीन बैंक 

काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरुले पौने ४४ अर्ब   नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म बैंकहरुले ४३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ नाफा कमाएका हुन् । 

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ०.८९ प्रतिशतले बढी हो । गत वर्षको फागुन मसान्तसम्म बैंकहरुले ४३ अर्ब ४९ करोड ६० लाख रुपैयाँ नाफा कमाएका थिए । 

यस अवधिमा आइपुग्दा ९ बैंकहरुको नाफा बढेको छ भने ११ वटाको नाफा घटेको छ । सर्वाधिक नाफा बढाउनेमा कुमारी बैंक रहेको छ । बैंकको नाफा गत वर्षको तुलनामा २७४.३४ प्रतिशतले बढेको हो । फागुन मसान्तसम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकको नाफा ६७.३६ प्रतिशतले घटेको छ । 

सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक  

यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । चालु आवको फागुन मसान्तसम्म बैंकले छ अर्ब सात करोड ४१ लाख रुपैयाँ नाफा कमाएको हो । जुन गत वर्षको तुलनामा २६.८७ प्रतिशतले बढी हो ।

गत वर्ष ४ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको ग्लोबल आईएमई बैंकले यस वर्ष चार अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन २.२६ प्रतितशले कम हो ।

राष्ट्र बैंकका अनुसार प्राइम कमर्सियल बैंकको नाफा ९.६८ प्रतिशतले बढेको छ भने राष्ट्रिय वाणिजइ बैंकको नाफा ३५.६८ प्रतिशतले बढेको छ । त्यस्तै सानिमा बैंकको २३.२१ प्रतिशत, सिद्धार्थको ६८.३१ प्रतिशत र कृषि विकास बैंकको नाफा ६५.५६ प्रतिशतले बढेको छ । 

तीन बैंकको नाफा करोडमा खुम्चियो 

चालु आवको आठ महिनामा आइपुग्दा तीन बैंकहरुको नाफा भने एक अर्बभन्दा कम रहेको छ । यस अवधिमा एनआईसी एशियाले ३० करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ भने लक्ष्मी सनराइज बैंकले ६५ करोड चार लाख र सिटिजन्स इन्टरनेशनल बैंकले ८० करोड रुपैयाँ रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।  

राष्ट्र बैंकका अनुसार चालु आवको यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ४९ अर्ब तीन करोड रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १.५१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ४८ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका थिए । 

यस अवधिमा वाणिज्य बैंकहरुको नाफा ४३ अर्ब ८८ करोड, विकास बैंकहरुको नाफा चार अर्ब ४८ करोड ७० लाख र फाइनान्सहरुको नाफा ३६ करोड ७० लाख रुपैयाँ रहेको छ ।
 

थप समाचार